ad ad

समाज


गण्डकी प्रदेशमा तीन सातामै ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

गण्डकी प्रदेशमा तीन सातामै ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

फाइल तस्बिर


रासस
माघ १०, २०७८ सोमबार ११:१०, पोखरा

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ। 

आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ। गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्।

कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित छन्। 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरामा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएपछि पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच जना स्टाफ नर्स सहयोग गरेको छ।

केही दिनअघि नेलम्बोले सरुवा तथा सङ्क्रामक अस्पताललाई समेत चार जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो। 

स्वास्थ्यकर्मी अधिकतम मात्रामा सङ्क्रमित भइरहेको अवस्थामा स्वास्थ्य अस्पतालमा बिरामीको उपचारमा स्वास्थ्यकर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहजरुपमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी ६ महिनाका लागि पाँचजनाको स्वास्थ्य जनशक्ति  सहयोग गरिएको नेलम्बोले जनाएको छ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा आइतबार नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। 

अध्यक्ष देवकोटाले हाल कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव नहोस र बिरामीको उपचारमा सहयोग गर्नका लागि जनशक्ति सहयोग गरिएको बताए।

जनशक्ति सहयोगबापतको सबै खर्च नेलम्बोलेनै गर्ने बताइन्छ। 

प्रतिष्ठानका निर्देशक डा खत्रीले नेलम्बो नेपालले कोभिड–१९ सम्बन्धी सुरुआती चरण देखिनै कोरोनासँग जुध्न र जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएकामा आभार व्यक्त गरे।

पछिल्लो केही दिनयता सङ्क्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा मानवीय सेवाको कार्य गर्ने नेलम्बोको सहयोग महत्वपूर्ण रहेको बताए।

माछापुच्छ्रेमा अत्यावश्यबाहेकका सेवा रोकिए

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ। 

गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए। 

'अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ। त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ', उनले भने। 

गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न अपिल गरेको छ। 

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीसहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना  र तीन जना कर्मचारी सङ्क्रमित भएको बताए। 

गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना रहेको बताइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .