समाज


३० हजार धरौटीमा छुटेका ‘हाइ प्रोफाइल’ जुवाडे थप २० दिन थुनामै

३० हजार धरौटीमा छुटेका ‘हाइ प्रोफाइल’ जुवाडे थप २० दिन थुनामै

दीपक खरेल
कात्तिक २६, २०७६ मंगलबार १२:११,

काठमाडौं प्रशासनको आदेशले जुवा ऐनमा धरौटीमा रिहा भएका २५ जुवाडे थप २० दिन प्रहरी हिरासतमा बस्ने भएका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको आदेशले रिहा भएका उनीहरुलाई महानगरीय वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेर मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराएको थियो। विभागले उनीहरुबाट बरामद रकमका बिषयमा अनुसन्धानका लागि विशेष अदालतबाट २० दिनको म्याद लिएको हो।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले उनीहरुसँग बयान र छानबिन गर्नुपर्ने भएकाले २० दिनको म्याद लिएको बताए। विभागले पहिला पनि छानबिनमा परेका बले भन्ने बलराम सापकोटासहित पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम, इन्द्रबहादुर श्रेष्ठ र प्रदीप बोगटीका विषयमा बिशेष चासो दिएको छ।

जिल्ला प्रशासन कार्यालयले दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका २५ जुवाडेलाई सोमबार धरौटीमा रिहा गर्न आदेश गरेको थियो । मुलुकी अपराध संहिता अनुसार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबार पहिलो पटक पक्राउ परेकाको हकमा ३० हजार र पटकेका हकमा ५० हजार धरौटी मागेका थिए।

काठमाडौं प्रशासनका अनुसार सोभित सिलवाल, मुक्ति लामा र सोहेल कार्की सहित ८ जना पटके र अन्य १७ जना पहिलो पटक जुवा महलमा कारबाहीमा परेका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रशासनलाई पत्र लेख्दै २५ जुवाडे छुट्नासाथ हाजिर गराउन पत्र लेखेको थियो। सो पत्रका आधारमा उनीहरूलाई विभागमा उपस्थित गराएको वृत्तका डिएसपी उमेश लम्सालले बताए।

वृत्तले कात्तिक ९ गते राति छापा मारेर महाराजगञ्ज पिपलमार्गमा रहेको विक्रम गौतमको घरबाट २५ जना जुवाडे पक्राउ गरेको थियो। पक्राउ परेकामा बलराम सापकोटा सहित पवन अग्रवाल, श्रवणकुमार गोयल, पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की , मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, श्यामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन्।

महाराजगन्जको साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .