कारोबार


युएस–बंगला विमान दुर्घटनापीडितको रोदनः मुद्दा प्रभावित पार्न आर्थिक चलखेल भयो

युएस–बंगला विमान दुर्घटनापीडितको रोदनः मुद्दा प्रभावित पार्न आर्थिक चलखेल भयो

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १२:२२,

दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सका यात्रुका परिवारले दाबी गरेको क्षतिपूर्तिको मुद्दा प्रभावित गर्ने प्रयास भएको छ।

०७४ फागुन २८ गते भएको उक्त विमान दुर्घटनाका पीडित परिवारले काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीका नेपाल प्रतिनिधिले मुद्दा प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका हुन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रभावित परिवारले कम्पनीको नेपालस्थित प्रतिनिधि अधिवक्ता देवेन्द्र प्रधानले मुद्दा प्रभावित तुल्याउने प्रयास गरेको आरोप लगाएका छन्। पीडित परिवारले जारी गरेको प्रेस वक्तव्यमा देवेन्द्र प्रधानले एक पत्र लेखी न्यायालयमा विचाराधीन मुद्दाको सम्बन्धमा अनुचित दबाब दिई न्यायिक पक्रियाकै दुरुपयोग गर्ने प्रयास गरेको उल्लेख छ।

pidit us bangala

पीडितहरुका तर्फबाट मुद्दा दायर गरेका कानुनी सल्लाहकार अमृत खरेललाई नोभेम्बर १ मै इमेलमार्फत पत्र पठाउँदै प्रधानले नोभेम्बर ६ तारिखका दिन काठमाडौं जिल्ला अदालतमा पेशी तारिखका क्रममा श्रेया झाबाहेक अरुको मुद्दा सोही दिन खारेज हुने दाबी गरेको खुलेको छ। प्रधानको उक्त दाबीपछि पीडित परिवारले अदालतलाई मुद्दाको पेशी स्थगन गर्न आग्रह गरेको थियो।

‘देवेन्द्र प्रधानले पठाएको पत्र व्यावसायिक मर्यादा र कानुन व्यवसायको पेशागत आचारसंहिताविपरीत गम्भीर चलखेल गरेको स्वतः पुष्टि हुन्छ’, पीडित परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यसैकारण उक्त पत्र प्राप्त भएपछि नोभेम्बर ६ तारिख तोकिएको पेशी स्थगित भएको जानकारी गराउँछौं।’

patra 2

यूएस बंगलाका नेपालस्थित कानुनी प्रतिनिधि प्रधान एन्ड एसाेसिएट्स प्रालिले नाेभेम्बर १ मै लेखेकाे पत्रः (माथि र तल)

patra 1

पीडित परिवारका एक एन्जिलाका बुबा विदुरमान श्रेष्ठले विपक्षी वकिल देवेन्द्र प्रधानलाई मुद्दा फैसला यस्तो आउँदै छ भन्ने कसरी थाहा भयो भन्ने प्रश्न गरेका छन्।

देवेन्द्र प्रधानले पीडित पक्षको वकिललाई पठाएको पत्रमा पीडित परिवारले मुद्दा दर्ता गर्दा कोर्ट फी पछि बुझाउने गरी दिएको सुविधा जसरी पनि कोर्ट फी दाखिल गर्न लगाउने धम्की दिएका छन्।

यसरी अदातलमा विचाराधीन मुद्दामा विपक्षलाई अनुचित दबाब दिने र मुद्दालाई प्रभावित तुल्याउने कार्य कानुन व्यवसायीको राष्ट्रिय अन्तर्राष्ट्रिय आचारसंहिता, स्वतन्त्र न्यायपालिकाको अवधारणा र स्वच्छ सुनुवाइको सिद्धान्तविपरीत कार्य गरेको आरोप लगाएको छ।

पीडित परिवारले युएस बंगलको आधिकारिक कानुनी प्रतिनिधि प्रधान एण्ड एसोसिएट्स प्रालि र सञ्चालक देवेन्द्र प्रधानले विचाराधीन मुद्दामा प्रभावित तुल्याउनमा संलग्न रही पत्राचार समेत गरिसकेपछि उक्त फर्म र देवेन्द्र प्रधानको वारेस अख्तियारनामा बदर गरी नयाँ कानुनी व्यवसायीमार्फत विपक्षी युएस बंगलाले प्रतिनिधि उपस्थित नगराएसम्म विचाराधीन मुद्दाको कारबाही समेत स्थगित गर्नका लागि काठमाडौं जिल्ला अदालतसमक्ष माग दाबी गरेका छन्।

पीडित सात परिवारले कुल दुई अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी गरी जिल्ला अदालत काठमाडौंमा साउनमा मुद्दा दर्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .