हाउजिङ ठगीमा मुछिएका व्यवसायी रुप ज्योतीलाई पक्राउ गरेको प्रहरीले जाहेरी परेका परिवारका सदस्य सहित ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरीकर्ता बिगेन्द्रकृष्ण मल्लले जाहेरीमा किटानी गरेका ल्याण्डमार्क डेभलपर्सकी अध्यक्ष मिला सायमी तथा पद्म ज्योति, रूप ज्योति, कमला कंशाकार, सौरभ ज्योति, सुहृद ज्योति, सुरूचि ज्योति, अभिक ज्योति, प्रकाश भक्त माथेमा, किरण महर्जन र शम्भुप्रसाद फुयालविरूद्ध पक्राउ पुर्जी लिएको स्रोतले बतायो।
जाहेरीकर्ता मल्लले ल्याण्डमार्क डेभलपर्स मार्फत ज्योती समुहले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीले रुपलाई बिहीबार र सूरुचीलाई शुक्रबार पक्राउ गरेर तीन दिन र आईतबार पाँच दिनको अनुसन्धान म्याद लिएको छ। सोमबार अनुसन्धानमा तानिएको भन्दै रूपका दाजु पद्म ज्योतीलाई पक्राउको तयारी प्रहरीले गरिरहेको हो।
काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जाहेरीमा भएका ब्यक्तिहरू अनुसन्धानका लागि पक्राउ गर्ने अधिकार प्रहरीलाई भएको बताए। उनले एक मुष्ट सबै विरूद्ध किटानी जाहेरी परेको बताए।
‘११ कि १२ जनाबिरूद्ध जाहेरी परेको छ,’ एसएसपी सुवेदीले भने ‘पक्राउ पुर्जीको बिषय गोप्य रहन्छ।’
यता अदालतमा म्याद थपका लागि उपस्थित गराईएका रूप ज्योतीले इजलाससमक्ष आफुसँग पाँच करोड फिर्ता गर्न दवाब दिएको र त्यो पुरा नभएपछि पक्राउ गरिएको बताएका छन्। स्रोतका अनुसार सत्ता सञ्चालनको केन्द्रमा रहेका ब्यक्तिहरूको आडमा बिचौलिया मार्फत जाहेरीकर्तालाई अगाडी राखेर बार्गेनिङ भइरहेको हो। जसअनुसार ज्योति परिवारसँग पाँच करोड असुल्ने र बागबण्डा गर्ने सहमती भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रूप ज्योति अध्यक्ष रहेको ल्यान्डमार्क हाउजिङ कम्पनीले बिकेन्द्रकृष्ण मल्ललाई २ करोड १४ लाख ७५० रूपैयाँमा महाराजगञ्ज क्षेत्रमा तयारी घरदिने भनेर सम्झौता गरेका थिए। यसबापत कम्पनीले मल्लसँग १ करोड ३६ लाख रुपैयाँ बुझेको थियो। तर, मल्ललाई घर पनि नदिने र लिएको रकम पनि फिर्ता नगरेपछि उनी ठगी मुद्दाको जाहेरी लिएर गत वर्ष मंसिरमा परिसर पुगेका थिए।
परिसरले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रुप ज्योतिलाई पक्राउ गर्न २०७५ मंसिर २० मा अनुमति लिएको थियो। रुप ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट निषेधाज्ञा लिएका रूप ज्योतिको आदेश गत मंगलबार उल्टिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट मंगलबार खारेज गरेपछि मल्ल पूरक जाहेरी लिएर परिसर पुगेका थिए। प्रहरीले मल्लको पूरक जाहेरीपछि अदालतबाट अनुमति लिएर रूप ज्योति र सुरूची ज्योतिविरूद्ध कारबाही थालेको हो।

प्रतिक्रिया