समाज


डोजर प्रकरण : प्रतिवेदन बुझाउन ढिलाइ

डोजर प्रकरण : प्रतिवेदन बुझाउन ढिलाइ

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ८:२२,

यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ।

छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन। कात्तिक ५ गते २४ घण्टाको समय सीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।

उक्त समय सीमाभित्र छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप ५ दिनको म्याद थपिएको थियो। तिहारको बिदापछि पाँच दिनको म्याद राखिएको थियो। तर उक्त समय सीमामा पनि छानबिन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका गर्न थालेका छन्।

यसअघि केही दिन अगाडि नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो। सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो। झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो।

छानबिन समितिले गहनरूपमा सबै कुरा समेट्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ। समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार प्रतिवेदन ९० प्रतिशत काम सम्पन्न भएकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए।

समितिले स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था नगरपालिकासँग बुझेको छ। उनले भने, ‘पीडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भनी उच्च अदालतमा मुद्दा हालेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ, त्यसको पनि समस्या समाधानतर्फ छ।’

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उहाँ आउने बित्तिकै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी छ। छानबिन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रशासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई पठाउने जनाइएको छ।

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो। डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन्। गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छिन्। तर अझै पनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखा पर्ने गरेको परिवारले जनाएको छ।

प्रहरीले महिला हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्दोगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad