ad ad

समाज


अर्जुन दास हत्या प्रकरण : मोबाइलको विवादमा साथीबाटै हत्या!

अर्जुन दास हत्या प्रकरण : मोबाइलको विवादमा साथीबाटै हत्या!

गोकुल जोशी
पुस ७, २०७८ बुधबार १६:८, काठमाडौँ

घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय युवक अर्जुन दासको हत्या घटनामा उनकै साथीहरुको संलग्नता रहेको खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय (कैलाली) ले घटनामा संलग्नको पहिचान भएको जनाएको छ। अर्जुन दासको हत्यामा ४÷५ जनाको संलग्नता रहेको प्रहरीको दाबी छ। यद्यपी उनीहरु भारत भागेका छन्। 

अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले उनीहरु बारे थप जानकारी सार्वजनिक गरेको छैन। स्रोतका अनुसार घटनामा संलग्न मृतक अर्जुनकै साथीहरु हुन्। 

मोबाइलको विषयमा अर्जुनसँग भएको सामान्य विवादका कारण घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

‘अहिलेसम्मको अनुसन्धानले मोबाइलको विषयमा सामान्य विवाद भएको र त्यहीँ विवादले गर्दा घटना घटेको देखिन्छ। तर, हत्याको पछाडी केही अरु मेजर कारण पनि हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘अडिओमा केही ‘कोड’ भाषा प्रयोग भएको छ। यी कुराहरु फरार अभियुक्त पक्राउ परेपछि खुल्लान्।’

उक्त स्रोतका अनुसार मृतक अर्जुनले काम गर्ने ठाउँबाट ‘मोबाइल उठाएर’ साथीहरुलाई दिएको देखिन्छ। यही विषयमा शुक्रबार अर्जुनको जसकोमा काम गर्थे उनीसँग बोलचाल पनि भएको थियो । 

शुक्रबार राति दुई जना युवक मृतक अर्जुनको घरमा आएर मोबाइल खोज्न घर खानतलासी पनि गरेका थिए। घटनापछि उनीहरु गाउँमा देखिएका छैनन्। घटनाका अभियुक्त ४/५ जना भागेर भारत गएको प्रहरीले जनाएको छ।

शुक्रबार राति घटना भएको प्रहरी अनुसन्धानले देखाउँछ। शुक्रबार बेलुका अर्जुन घरबाट निस्किएका थिए। घटना बारे प्रहरीले शनिबार बेलुका मात्रै खबर पाएको थियो। यसबीचमा शनिबार बिहानतिर अभियुक्तहरु भारततिर भागेको खुलेको छ।

उनीहरु घटना पछि गाउँमा देखिएका थिएनन्। घरबाट दुई किलोमिटरको दूरीमा रहेको अमरावती सामुदायिक वनमा शनिबार बेलुका अर्जुनको टाउको छिनालिएको शव रुखमा बाँधिएको अवस्थामा भेटिएको थियो।

घटनामा संलग्न अभियुक्त लागुऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको आशंका छ। घटनास्थलमा चुरोटका ठुटा, बट्टा र ट्याब्लेटका खोस्टा भेटिएका थिए।

प्रहरीले घटनाको एक फोन कल रेकर्ड पनि प्राप्त गरेको थियो। जसमा एक जना युवकले टाउको र शरीर अलग हुने गरी हत्या गरेपछि आफूहरु भागेर भारत गइरहेको बताएका थिए। 

‘एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ,’ अडिओमा एक युवकले भनेका छन्, ‘हामीले गरेर आको, हामी बोर्डर पारि छौं, बैंग्लोर जान रूपैडिया छौँ।’

यही कल रेकर्डको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएर अभियुक्तको पहिचान गरेको हो। हत्या आशंकामा लम्की टीकापुर क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान गरिरहेको छ। 

भारतमा लुकेर बसेका फरार अभियुक्तको खोजीकार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी बेदप्रकाश जोशीले बताए। उनका अनुसार भारतीय प्रहरीको समन्वयमा प्रावधिक पक्षको विश्लेषण गरेर अभियुक्तको खोजी भइरहेको छ।

प्रहरी सहायक निरीक्षक (सई)को नेतृत्वमा फरार अभियुक्तको खोजी गर्न जिल्ला प्रहरी कैलालीको टोली भारतमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .