समाज


चितवनका चार सामुदायिक वनलाई समेटेर ‘राइनो पार्क’ बनाइँदै

चितवनका चार सामुदायिक वनलाई समेटेर ‘राइनो पार्क’ बनाइँदै

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १२:४,

पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रुपमा विकास गरिने भएको छ।

प्रदेश नं ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ।

राप्ती र नारायणी नदीको संगमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्दछन्। हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्दछन्। क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलका अनुसार प्रदेशसभाले जिल्लामा मेघौलीलाई पर्यटकीय गन्तव्यका रुपमा छानेको छ।

यससँगै यहाँको पर्यटकीय प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट प्राप्त हुने उनले जानकारी दिए। भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा वेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनोपार्कका रूपमा विकास गर्न लागिएको छ।

मेघौली विमानस्थल नजिकै राइनोपार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदैछ। मूर्तिभित्र दुई तला हुनेछन्। तिनमा पर्यटन सूचना केन्द्र र सङ्ग्रहालय रहने उनले जानकारी दिए। यसै महिनाको ३० गते शिलान्यास गरेर काम अघि बढाइँदैछ। रु दुई करोड ५० लाख खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार राइनोपार्क झण्डै ५५० बिघा क्षेत्रमा फैलनेछ। पार्कमा थारू सङ्ग्राहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, वेतरी खोलामा ५०० मिटरसम्मको डुंगा शयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन्। यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिकवाक निर्माण गरिँदैछ। सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिकवाक निर्माण गरिनेछ।

झण्डै एक किलोमिटर लामो त्यसै ठाउँमा हिँडेर पर्यटकले दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन्। सोका कारण वन्यजन्तुबाट कुनै दुर्घटना नहुने र पर्यटक रमाउने अपेक्षा गरिएको छ। सुवेदीले यो नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिए। पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि प्रचारप्रसारको अभावमा मेघौली पछिपरेको छ। मेघौलीमा ठूला–साना १० पर्यटकीय होटलमा २७३ को क्षमता रहेको छ।

सुवेदीका अनुसार गत वर्षको तथ्यांकलाई हेर्दा मेघौलीमा वार्षिक ११ हजार विदेशी र सात हजार हाराहारी नेपाली पर्यटक आउने गरेका छन्। निकुञ्जभित्रको होटल टाइगरटप्स बन्द भएसँगै बाहिरको हात्तीपोलो खेल पनि बन्द भएको छ। यससँगै मेघौली थप ओझेलमा परेको हो। पछिल्लो समय मेघौलीमा नयाँपन दिनका लागि स्थानीयवासी लागिपरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad