समाज


सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो : तीन वर्षमा ४९६ जनाको मृत्यु

सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दो : तीन वर्षमा ४९६ जनाको मृत्यु

गोकुल जोशी
मंसिर २२, २०७८ बुधबार १४:३८, काठमाडौँ

मंसिर पहिलो साता बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत गोठलापानी—झुलाघाट सडड खण्डमा म १ ज ३१० नम्बरको जिप दुर्घटनामा हुँदा ६ जनाले ज्यान गुमाए। दशरथचन्द नगरपालिका–६ का राजेन्द्रबहादुर चन्द, धनबहादुर चन्द, प्रेमबहादुर चन्द, तारासिंह थापा, खेमसिंह कार्की र जिप चालक दीपक मालीले दुर्घटनामा ज्यान गुमाएका थिए। 

यो दुर्घटनाको शोक कम हुन पाउँदै २० मंसिरमा बैतडीको पाटन नगरपालिका–१ सकारमा से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो। दुर्घटनामा १३ वर्षीय विनोद विक, ७२ वर्षीय रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा, २० वर्षीय मनिषा विक र ४० वर्षीय जानकी भट्टराईले ज्यान गुमाउनु पर्‍यो।

यसअघि मंसिर १६ गते कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अर्जुनी ब्यारेक नजिक से १ त ३८४१ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको भएको थियो। 

सुदूरपश्चिममा वर्षेनी सडक दुर्घटना बढ्दो क्रममा रहेको पाइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्क अनुसार वर्षेनी सडक दुर्घटना बढ्दो क्रममा रहेको पाइएको हो।

तीन वर्षको अवधिमा सुदूरपश्चिममा १ हजार ११ वटा सवारी दुर्घटनाका घटना भएका छन्। ती दुर्घटनामा परेर ४ सय ९६ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८ सय ५२ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १६४ दुर्घटना भएका थिए। त्यस वर्ष दुर्घटनामा परेर १६६ जनाले ज्यान गुमाए भने ३३८ जना घाइते भए।

आर्थिक वर्ष २०७६/०७७ मा सडक दुर्घटनाको ग्राफ उकालो लाग्यो। यस आर्थिक वर्षमा २८५ सवारी दुर्घटनामा परे। त्यसबाट १४३ जनाले ज्यान गुमाए भने ४१८ जना घाइते भए।

आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घटनाको संख्या दोब्बरले बढेको छ। ट्राफिक प्रहरीका अनुसार २०७७/०७८ मा ५६२ दुर्घटनामा १८७ जनाले ज्यान गुमाए भने १ हजार ९६ जना घाइते भए।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सुदूरपश्चिममा २३९ वटा सवारी साधन दुर्घटनामा परेका छन्। चालु आर्थिक वर्षको मंसिर २१ गतेसम्मको अवधिमा दुर्घटनामा परेर ७९ जनाको मृत्यु भएको छ भने ४२८ जना घाइते भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र यात्रुबाहक जिप, बस लगायतका सवारी साधन बढी रहेका छन्। 

सडकको अवस्था, चालकको लापरबाही, छाडा पशुचौपाया लगायत कारणले सवारी दुर्घटना बढिरहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले बताए।

‘कतिपय ठाउँमा सडककै खराबीले दुर्घटना हुन्छ भने कतिपय घटनामा चालकको पनि लापरबाही देखिन्छ। तराईमा छाडाचौपायाले गर्दा पनि दुर्घटना भइरहेका छन्,’ उनले भने, ‘पुरानो गाडी, तीव्र गतिमा हाँक्ने हुनाले पनि दुर्घटना भइरहेका छन्।’

दुर्घटना न्यूनीकरणका लागि सवारी साधन चेकजाँचमा कडाइ गरिएको उनको दाबी छ।

‘ठाउँठाउँमा जाँच गरिरहेका छौँ। हामीले न्यूनीकरणका लागि प्रयास गर्दा समेत दुर्घटना भइरहेको हुन्छ,’ उनले भने, ‘तराईमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको व्यवस्थापन गर्नु पनि जरुरी छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad