समाज


चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले छुट्यायो ३० लाख बजेट

चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले छुट्यायो ३० लाख बजेट

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार १०:३७,

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए। मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ। चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए।

‘चितुवाको आक्रमणले भानुमा ६ बालबालिकाको ज्यान गइसकेको छ,’ मन्त्री गुरुङले भने, ‘चितुवा नियन्त्रणका लागि के कस्ता काम गर्न सकिन्छ सबैका लागि प्रदेश सरकारको सहयोग रहनेछ।’

प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए।

बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन भएको छ। डिभिजन वन प्रमुख बरालका अनुसार कार्यालयबाट चार, नेपाल प्रहरीबाट चार र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन्।

जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्ने समेतको अधिकार प्रदान गरेको छ। विशेष सुरक्षा गस्तीका अलवा चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा नौ वटा काठका खोर राखिएको छ। उक्त खोरमा परेर दुई वटा चितुवा नियन्त्रणमा आए पनि त्यस क्षेत्रमा थुप्रै चितुवा रहेको अनुमान गरिएको छ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad