अमेरिकाले मुस्ताङस्थित लो गेकर गुम्बाको पुनर्निर्माणका लागि झन्डै ३ करोड ४० लाख रुपैयाँ (२ लाख ८५ हजार अमेरिकी डलर) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार सांस्कृतिक सम्पदा संरक्षणका लागि स्थापित अमेरिकी राजदूत कोषले नोर्बुसुम फाउन्डेसनलाई उक्त सहयोग प्रदान गर्ने भएको हो।
फाउन्डेसनले मुस्ताङको मराङ गाउँमा जीर्ण अवस्थामा रहेको लो गेकर गुम्बाको पुर्ननिर्माण गर्नेछ। कोषको सहयोगमा भूकम्प प्रतिरोधी संरचना निर्माण हुने भएको हो।
‘मैले नेपालभित्र घुमेका मध्ये मुस्ताङ सबैभन्दा मनमोहक ठाउँ हो। राजदूत कोषले स्थानीय समुदायसँग सम्पदा संरक्षणका लागि साझेदारी गर्न पाउँदा मैले आफूलाई गौरवान्वित महसुश गरेको छु। म फेरि मुस्ताङ पुग्न चाहन्छु’ नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीटमा लेखेका छन्।
लो गेकर विश्वकै पुरानो मध्येको तिब्बती गुम्बा हो। गुम्बा घर गोम्पा नामले पनि चिनिन्छ। २०७२ को विनाशकारी भूकम्पले उक्त गुम्बा क्षतविक्षत भएको थियो।
गण्डकी प्रदेशका सांसद महेन्द्र थकाली, लो गेकर कुन्ड नगरपालिकाका अध्यक्ष लोप्साङ् बिस्ट र अमेरिकी दूतावासका अधिकारी ग्यारेट विलकर्सनले उक्त गुम्बा पुनर्निर्माणको संयुक्त रुपमा हालै उद्घाटन गरेका थिए।
गुम्बा पुनर्निर्माणको काम सन् २०२३ को सेप्टेम्बरमा सक्ने लक्ष्य लिइएको दूतावासले जनाएको छ।
Shares
प्रतिक्रिया