रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ। पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन्।
तनहुँको व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा जडानका लागि देउसीभैलो खेलेर रकम सङ्कलन गरेका छन्।
३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न देउसीभैलोबाट ६२ हजार १०५ रुपैयाँ सङ्कलन भएको टोलका अध्यक्ष हविव खानले जानकारी दिए। ‘टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, त्यही आवश्यकता पूरा गर्न तिहारमा देउसी खेलेर रकम संकलन गरेका छौँ।’
बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पुग्ने उद्देश्यले सीसी क्यामेरा जडान गर्न लागिएको सहसचिव विकल्प श्रेष्ठले बताए। देउसीभैलोबाट सङ्कलन भएको रकममा थपथाप गरी सिसी क्यामरा खरिद गर्ने स्थानीयको तयारी छ। रासस
Shares

प्रतिक्रिया