मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ। पाँचदिनसम्म अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज ‘नाहय-खाय’ रहेको छ।
आजको दिन छठ ब्रतालुलहरुले नुहाएर भोजन गर्ने गर्दछन् । त्यसले आजको दिनलाई ‘नहाय–खाय’ भनिन्छ।
यसअघि छठको पहिलो दिन आइतबार ब्रतालुहरुले माछ मरुवा भोजन बारेका थिए। माछमरुवा बार्ने दिनदेखि महिलाहरु माछामासु, कोदो, उसिनेको चामल, मुसुरो, तामसी र राजसी भोजन परित्याग गर्दछन्। पहिलो दिनलाई माछमरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भनिन्छ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तेश्रो दिन भोलि साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्ने चलन छ।
यस वर्ष छठको मूल विधि चौथो दिन बुधबार परेको छ। चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने र पाचौ दिन बिहान उँदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन गरिन्छ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतका सामग्रीहरु चढाईन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने प्रचलन छ।
अघ्र्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अघ्र्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा लिइनछ।
तराई मधेशबासी अहिले छठपर्वको तयारीमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लागेको छ।
त्यस्तै आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतका जलाशयको किनारमा सरसफाई गरि घाटलाई झकिझकाउ बनाउने काम भइरहेको छ।
Shares

प्रतिक्रिया