अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले आफ्नो १० प्रतिशत अर्थात् करिब २१ अर्ब डलरबराबरको सेयर बेच्ने वा नबेच्ने निर्णय गर्ने अधिकार ट्वीटर प्रयोगकर्ताको हातमा सुम्पिएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा पोल राख्दै आफ्नो टेस्लाको १० प्रतिशत सेयर बेच्ने वा नबेच्ने सल्लाह दिन आग्रह गरेका छन्। अमेरिकाले ल्याएको नयाँ नियमअनुसार कर तिर्न मस्कले आफूसँग टेस्लाको सेयर बेच्नुको विकल्प नभएको बताएका छन्।
अहिलेसम्म मस्कको ट्वीटर पोलमा ३५ लाखभन्दा धेरैले भोट गरिसकेका छन्। जसमध्ये करिब ५८ प्रतिशतले सेयर बेच्न सुझाव दिएका छन्। मस्कले ट्वीटरमा आएको सुझावको सम्मान गर्ने पनि उल्लेख गरेका छन्।
मतदान सेयर बेच्ने पक्षमा भए मस्कले करिब २१ अर्ब डलरको सेयर बेच्नुपर्ने हुन्छ। अमेरिकाका डेमोक्रेटिक पार्टीका सांसद्ले अर्बपतिमाथि कर लगाउने नयाँ प्रस्ताव राखेका छन्।
त्यसको जवाफमा मस्कले आफूसँग सम्पत्तिको नाममा सेयर मात्र रहेको र कुनै पनि कर तिर्न सेयर बेच्नुपर्ने बताएका छन्। नयाँ प्रस्तावअनुसार कुनै पनि व्यक्तिको सेयरको भाउ बढेको अवस्थामा पनि उनीहरुले कर बुझाउनुपर्ने हुन्छ।
यद्यपि मस्कले सार्वजनिकरुपमा सेयर कसरी र कहिले बेचिन्छ भन्ने जानकारी भने दिएका छैनन्।
Shares

प्रतिक्रिया