समाज


ढोरपाटन आरक्ष: नाउर र झारल सिकार गर्न खुला

ढोरपाटन आरक्ष: नाउर र झारल सिकार गर्न खुला

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:२०, काठमाडौँ

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ। मंगलबारदेखि  जङ्गली जनावर नाउर र झारल सिकार गर्न खुल्ला गरिएको सिकार आरक्ष कार्यालयले जनाएको छ। 

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने गर्दछन्। आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि १० नाउर र ६ झारलको सिकार अनुमति दिएको छ। सोही अनुसार विदेशी सिकारी आरक्ष क्षेत्रमा पुगेका हुन्।

आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ। विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गर्छ।

ढोरपाटन सिकार  आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एन्ड ट्रेल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीले नाउर र झारल सिकारका लागि अनुमति पाएका छन्।

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ। ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए।

पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन्। गत वर्ष दुई याममा १८ नाउर र नौ झारलको सिकार भएको थियो।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा सिकार खेल्न अनुमति दिने गरिएको छ। खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन्।

सो विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना सिकारीले करिब २० देखि २२ लाख खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाले जानकारी दिए।

सिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ। नेपालमा कोरोनाको त्रासले गर्दा विगतमा जस्तो प्रतिस्पर्धा नभएको र जति धेरै सिकारीको आउने इच्छा गर्दछन्, त्यति नै राजश्व सङ्कलन हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad