ad ad

समाज


नेपालकै दोस्रो लामाे पुल निर्माण पूरा

नेपालकै दोस्रो लामाे पुल निर्माण पूरा

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार २:५,

नेपालकै दोस्रो लामो पुल निर्माण पूरा भएको छ। दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण सम्पन्न भएको हो।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करिब १ अर्ब लगानीमा बनाइएको हो।

उक्त पुल अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु गरेको थियो।

आव २०७६/७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै काम सकिएको पुल निर्माण योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजनाप्रमुख बाबु पन्तले जानकारी दिए।

‘पुल निर्माणका लागि ४ वर्षको सम्झौता भएको थियो,’ उनले भने, ‘तर सम्झौता अवधि पूरा गर्नु ४ महीनाअघि नै हामीले काम पूरा गरेका छौं।’

अहिले पुल निर्माण पूरा भएको र त्यहाँ पुग्ने सडक निर्माणको काम भइरहेको उनले जानकारी दिए। उक्त पुलको उद्घाटन आउँदो माघमा गरिने उनले जानकारी दिए।

उक्त पुल निर्माण भएपछि दाङ देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ। पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल बनेपछि १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।

‘पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो। बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था नै हुँदैनथ्यो,’ उनले भने, ‘भनेको बेला सवारीसाधन पनि नपाएर वारपार गर्न हैरान हुन्थ्यो। अब पुल निर्माण भएसँगै १५ मिनेटमा आवतजावत गर्न सकिनेछ।’

यो पुल निर्माण भएपछि आयआर्जनमा टेवा पुग्नेछ। जिल्लाको देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने भएकाले यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम पनि सञ्चालनमा छ।

तर, पुलको अभावमा स्थानीय किसानले कृषि उत्पादनको बजारीकरण गर्न सकेका थिएनन्। पुल निर्माण भएमा राप्ती नदीपारिका किसानको कृषि उत्पादनको बजारीकरण गर्न ठूलो सहयोग पुग्न सो क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले रासससँग बताए।

यसअघि बर्दियाको पश्चिमक्षेत्र भौराटापुअन्तर्गत कोठियाघाटमा नेपालकै लामो पुल बनिसकेकाे छ। १ हजार १५ मिटर लम्बाइ र ९.१० मिटर चौडाइयुक्त यो पुल १ अर्ब रुपैयाँ लागतमा तयार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .