समाज


२५ जनाको ज्यान लिने ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

२५ जनाको ज्यान लिने ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

नेपालखबर
असार २४, २०८३ बुधबार ११:२७, काठमाडौँ

पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको छ। 

दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए।

ध्रुवे हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुनले बताए।

त्यस घटनापछि ध्रुवे हात्तीको निरन्तर अनुगमन भइरहेको छ।

ध्रुवे हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको छ।

‘हामी तयारी अवस्थामा छौँ, भेटिनासाथ ‘डार्ट’ गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ,’ उनले भने।  यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो।

हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ। उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ।
 
गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो।
 
घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ।

विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि  मार्न आदेश दिइएको थियो।

त्यस हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो।

विसं २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिसकेको थियो। ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम गरेका जङ्गली भाले हात्ती छन्।

निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएको छ। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जङ्गली हात्ती  छन्।

अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन्। निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला सङ्घसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad