ad ad

प्रविधि


अन्तरिक्षमा सैनिक दौड सुरु, अमेरिकी स्पेस विमानको कीर्तिमानी उडान

अन्तरिक्षमा सैनिक दौड सुरु, अमेरिकी स्पेस विमानको कीर्तिमानी उडान

लियू जेन
कात्तिक १३, २०७६ बुधबार २:११,

अमेरिकाले गत हप्ता मात्रै नयाँ अन्तरिक्ष विमानको सफल परीक्षण गरेको छ। यसलाई विज्ञहरुले अन्तरिक्षमा सैनिकीकरणको सुरुवातका रुपमा लिएका छन्। 

हुन त यसअघि नै अन्तरिक्षमा शस्त्रास्त्र राख्न ठूला शक्तिराष्ट्रहरुले इच्छा देखाइसकेका छन्। तर गत हप्ता अमेरिकी एयरफोर्सको एक्स–३७बी स्पेस प्लेनले कीर्तिमानी परीक्षण उडान सफलतापूर्वक गरेपछि सैन्य क्षेत्रका विश्लेषकहरुले यस्तो संकेत गरेका हुन्।

विश्वकै एकमात्र पुनप्र्रयोग गर्नसकिने एक्स३७बी विमान नासाको फ्लोरिडास्थित केप कानावरलमा रहेको केन्नेडी स्पेस सेन्टरमा आइतबार फर्किएको थियो। उक्त विमान ७ सय ८० दिन अन्तरिक्षमा अर्बिट (कक्ष) मा बिताएर पुनः पृथ्वीमा फर्किएको हो। अमेरिकी एयरफोर्सका अनुसार लक्षित उद्देश्य पूरा गरेर यो विमान पृथ्वीमा फर्किएको हो। उक्त विमानले ससाना स्याटेलाइट समेत लगेको बुझिएको छ।

यो उडान मानवरहित स्पेस प्लेनको पाँचौँ र अहिलेसम्मकै लामो मिसनअन्तर्गतको हो। यसले तोकिएको अवधि पूरै अन्तरिक्षमा बिताउन सफल भएको थियो। अमेरिकाले यसअघि पनि एउटा कार्यक्रम तय गरी मिसन सञ्चालन गर्दै आएको छ। जुन कार्यक्रम अन्तर्गत अर्बिटमा विमानले अहिलेसम्म २ हजार ८ सय ६५ दिन बिताइसकेको एससीएमपीले जनाएको छ। एयरफोर्सले अर्को वर्ष आफ्नो छैठौँ एक्स३७बी मिसनको तयारी गरेको बताएको छ।

यद्यपि स्पेस शटलको तुलनामा अर्बिटल टेस्ट भेहिकल सानो हुने गर्छ। तर यसले लामो उडान गर्नसक्छ। यो खासगरी सैन्य प्रयोजनका लागि अनुकूल मानिन्छ।

एयरफोर्सका पूर्वसचिव हिथर विल्सनका अनुसार एक्स३७बीको क्षमता भनेको पृथ्वीको परिक्रमा गर्नसक्नु हो। आफ्नो कक्ष परिवर्तन गर्न यो पृथ्वीको वायुमण्डलनजिक पुग्ने उनले बताए। जसलाई अमेरिकाका प्रतिस्पर्धी राष्ट्रहरुले समेत थाहा नपाउने विल्सनले गत जुलाईमा आस्पेन सेक्युरिटी फोरममा बताएका थिए।

त्यस्तै हङकङका सैन्य विश्लेषक सोङ झोङपिङले अमेरिकाको नयाँ विमानको असाधारण क्षमता रहेकोले यसले अन्य स्याटेलाइटको जासुस गर्नसक्ने र पृथ्वीमा समेत आक्रमण गर्न सबल हुने बताए। यदि यसले सामान्य स्याटेलाइट बोक्नसक्छ भने आवश्यक हतियार पनि बोक्न सक्छ र अन्य स्याटेलाइट समात्न पनि सक्छ, सोङले दाबी गरे।

त्यसो त सन् २०१७ मा एक्स३७बी लन्च गर्दा चाइना स्पेस न्युजले यसलाई स्याटेलाइट किलरको दर्जा दिएको थियो। यसले अर्बिटमा रहेका अन्य स्याटेलाइट खसालिदिनसक्ने चिन्ता त्यतिखेर प्रकट भएको थियो। यस प्रकृतिका विमानहरु परीक्षण र परिचालन गर्दा त्यसले स्पेस आर्म्स कन्ट्रोल कोडको उल्लंघन हुने समेत बताइएको थियो।

हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका एक जना खगोलविद् जोनादन म्याडवेलले आइतबार सामाजिक सञ्जाल ट्विटरमा यस प्रकारका विमान अन्तरिक्षमा परिचालन गर्नु खतरनाक हुने चेतावनी दिएका थिए। अमेरिकाले यसको जानकारी समेत नदिनु यूएन रेजिष्ट्रेसन कन्भेन्सनको विपरीत भएको उनको भनाइ छ। अमेरिका र रुसले यसको उल्लंघन गरिरहेको उनको आरोप छ।

उक्त कन्भेन्सन सन् १९७४ मा पहिलोपटक सन् १९६७ को आउटर स्पेस सन्धिअन्तर्गत ल्याइएको थियो। यसले अन्तरिक्षमा प्रक्षेपित हुने सबै चिज दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। यसले शान्तिपूर्ण कार्यका लागि अन्तरिक्षको प्रयोग गर्न सकिने व्यवस्था गरेको छ भने घातक हतियार अन्तरिक्षमा परिचालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।

तर यसका बाबजुद अन्तरिक्षमा शक्तिराष्ट्रहरुबीच प्रतिस्पर्धात्मक स्थिति पछिल्लो समय पैदा भएको छ। अमेरिकी कदमलाई चीन, रुसजस्ता शक्तिशाली बन्दै गएका राष्ट्रले आफूविरुद्ध लक्षित हुने बुझ्ने र त्यसप्रति आफूलाई पनि लालायित गराउने सोङले बताए।

गत हप्तामात्रै चीनले सफलतापूर्वक विन्ड टनेलको परीक्षण गरेको थियो। यसले दुई स्टेजयुक्त एयरक्राफ्टलाई अलग्याउन सक्छ। जुन एरोस्पेस प्लेनका लागि महत्वपूर्ण समेत मानिन्छ। यद्यपि यस प्रकृतिको एयरक्राफ्ट बनाउन भने अझै वर्षौं लाग्नेछ। चीनले नै यसअघि एन्टि स्याटेलाइट क्षेप्यास्त्र र स्पेसका प्रदूषक वस्तु जम्मा गर्न स्पेस जंक कलेक्टर स्याटेलाइट परीक्षण गरिसकेको छ।

सन् २०१६ मा चीनले परीक्षण गरेको रोमिङ ड्रागनले आफ्नो रोबोटिक आर्मको सहायताले हतियार समेत बोक्नसक्छ।

त्यस्तै रुसले पनि सोभियतकालीन स्पेस शटल हुँदाहुँदै पुनः प्रयोग गर्न सकिने मानवरहित स्पेस प्लेन निर्माणको काम गरिरहेको छ।
(साउथ चाइना मर्निङ पोष्टबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .