समाज


‘हाइप्रोफाइल’ जुवाडेको रोदनः ‘डिएसपी’साप पैसा लैजानुस्, हामीलाई छाडिदिनुस्’

‘हाइप्रोफाइल’ जुवाडेको रोदनः ‘डिएसपी’साप पैसा लैजानुस्, हामीलाई छाडिदिनुस्’

दीपक खरेल
कात्तिक ११, २०७६ सोमबार ९:३०,

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले एक महिना अघिदेखि साम्बाला होटल पछाडिको एउटा घरलाई निगरानीमा राखेको थियो। वृत्तबाट खटिएका सादा पोशाकका प्रहरीले बिक्रम गौतमको उक्त घरमा मानिसको आउजाउ र गतिविधी निगरानी गर्दै वृत्त प्रमुख डिएसपी उमेश लम्साललाई रिपोर्ट दिइरहेका थिए।

वृत्त प्रमुख लम्साल उचित मौकाको पर्खाइमा थिए। र, त्यो दिन शनिबार आयो। शनिबार दिउँसोदेखि रात छिप्पिँदासम्म गौतमको घरमा गतिविधी बढिरहेको थियो। महँगा गाडीमा सुकिला मान्छे झोला बोकेर पस्थे। केही मान्छे भित्रबाट निस्किएर गाडीमा आउँथे। फेरि झोला बोकेर उक्लन्थे।

‘सूचना वृत्तले विकास गरेको थियो’, डिएसपी लम्साल भन्छन्, ‘लामो निगरानी र योजनापछि एक्सनमा गएका हौं।’

शनिबार राती १२ बजेसम्ममा प्रहरीले घरभित्र करिब २५ देखि ३० जनासम्म हुने अनुमान गर्यो। डिएसपी लम्सालले टिम तयार पारे। उनलाई थाह थियो यो अप्रेशन भिन्न मात्रै छैन जोखिमपूर्ण पनि छ। प्रहरीले जुवाकै अप्रेशनमा बदनामीमात्र होइन, छापामार्दा सावधानी नअपनाउँदा केही महिनाअघि साँखु क्षेत्रमा एकजनाको ज्यान नै गएको थियो।

‘जोखिम, सावधानी र चुनौती तीनवटै पक्षको हिसाब गरेका थियौं’, डिएसपी लम्सालले भने, ‘मैले टिमसँग सल्लाह गरें अनि निर्देशन दिएँ।’

उनका अनुसार प्रहरी टोली त्यो घरबाट बाहिर आएका केही मान्छेलाई नियन्त्रणमा लिएर सँगै भित्र छिर्यो। घरभित्र प्रवेशपछि डिएसपी लम्साल नेतृत्वको टोलीले जुवा खाललाई चारैतिरबाट घेरा हाल्यो। अर्को टोलीले खानतलासीका लागि घर नै नियन्त्रणमा लियो।

‘खालमा कौडा चलिरहेको रहेछ’, लम्साल भन्छन्, ‘खाल हेरेपछि यो मिनी क्यासिनो नै भएको बुझ्न समय लागेन।’

प्रहरीले खालबाट २५ जनालाई नियन्त्रणमा लिएर नाम ठेगाना टिप्न थाल्यो। त्यहाँ पक्राउ परेका व्यक्ति ठूला व्यापारी, निर्माण व्यवसायी, बिचौलिया र व्यवसायिक जुवाडे थिए।

प्रहरीले खालबाट बरामद रकम गनेर मुचुल्का उठाउन थालेपछि त्यहाँ पक्राउ परेकामध्ये केही ‘हाइप्रोफाइल’ ले सुरुमा प्रहरीलाई नै धम्क्याए। जब प्रहरी टोली उनीहरु माथि हाबी भयो, त्यसपछि उनीहरूले रुन्चे श्वरमा भन्न थाले, ‘डिएसपी’साप, ठूलो बेइज्जत हुन्छ, यहाँ भएको सबै पैसा लैजानुस्, हामीलाई छाडिदिनुस्।’

juwa2

‘खालमा धम्की र प्रलोभन दिने कुरा सामान्य हो’, लम्साल भन्छन्, ‘यो सफलता नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धी र पुरस्कार थियो।’

डिएसपी लम्सालका अनुसार योजनावद्ध अप्रेशन भएकाले धेरै जुवाडे नियन्त्रणमा लिएर ठूलो रकम बरामद गर्न प्रहरी सफल भएको हो।

बिक्रम गौतमको यो घर लामो समयदेखि व्यवसायिक जुवा अखडा भएको घरभित्रको बनोटले पुष्टि गर्ने लम्साल बताउँछन्।

पक्राउ परेका २५ जुवाडेहरूमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन्।

juwa3

प्रहरीले जुवाको खालबाट २ करोड ६७ लाख रुपैयाँ नगद बरामद गरेकोे छ।

‘बरामद रकम राजस्वमा दाखिला हुनेछ’, डिएसपी लम्सालले भने, ‘रकमको वैधताका विषयमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागसँग समेत समन्वय भइरहेको छ।’

वृत्तका अनुसार सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले पक्राउ परेका व्यक्तिहरुबाट बरामद रकमको वैधतासहित स्रोतको खोजी गर्नेछ।

पक्राउ परेकामध्ये बले भन्ने बलराम सापकोटा र सोवित सिलवाल मिटर ब्याजी हुन्। यस्तै पवनकुमार गुप्ता सुन तस्करीमा मुछिने नाम हो भने प्रदिप बोगटी एक वर्ष अघि मृत्यु भएका प्रहरीका डिआइजी शुशिलकुमार भण्डारी निकट हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .