ad ad

समाज


मोतीपुर औद्योगिक क्षेत्र : द्वन्द्वको अन्तरकथा

मोतीपुर औद्योगिक क्षेत्र : द्वन्द्वको अन्तरकथा

सुदीप भण्डारी
असोज २५, २०७८ सोमबार ८:१, काठमाडौँ

रुपन्देहीस्थित बुटवलको मुख्य बजारदेखि पूर्व औद्योगिक क्षेत्रमा स्थान अभाव भएपछि विकल्प खोज्न थालियो। २०६६ सालमा मोतीपुरमा नयाँ औद्योगिक क्षेत्र बनाउने अवधारणा अघि सारियो। सुरुमा २ सय ३८ बिघामा औद्योगिक क्षेत्र बनाउनेगरी प्रस्ताव गरिएको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ बताउँछन्। 

‘तत्कालीन मोतीपुर गाविसले २०५५ सालमा आफ्नो दीर्घकालीन योजनामा त्यो ठाउँ औद्योगिक क्षेत्रका लागि छुट्याउने उल्लेख थियो’, उनले नेपालखबरसँग भने, ‘बुटवल उद्योग वाणिज्य संघले पनि औद्योगिक क्षेत्र खोल्नुपर्छ भन्ने धारणा राखेको थियो। हामीले २३८ बिघा जग्गा देखाएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई योजना अघि बढाउन भन्यौं।’ 

२०७२ वैशाखमा सरकारले सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना ल्यायो। जसअनुसार २०७३ वैशाखमा बुटवलको मोतीपुरसहित शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका केही क्षेत्रसमेत समेटिनेगरी ८ सय १३ बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा ल्याइयो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई छुट्याएको जग्गामध्ये केही भाग सुकुमवासीले वर्षौैंदेखि भोगचलन गरिरहेको जमिनसमेत थियो। 

आफूहरूले भोगचलान गरेको जग्गा औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडको नाममा दिएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति बनाएरै आन्दोलन थाले। उनीहरूले कुनै हालतमा पनि औद्योगिक क्षेत्र बन्न नदिने अडान लिए। 

मोतीपुर औद्योगिक क्षेत्रको डीपीआर भइसकेको थियो। तर ईआईए सकिएको थिएन। शिलान्यासअघि आन्दोलितमध्ये एक पक्षसँग औद्योगिक क्षेत्र विकास लिमिटेडले औद्योगिक करिडोर अगाडि बढाउने सहमति गरेको थियो तर अर्को पक्ष भने असन्तुष्ट थियो। 

२०७७ फागुन २१ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेल उद्योगमन्त्री लेखराज भट्टसँग मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न आइपुगे। त्यतिबेला पनि व्यापक विरोध भएको थियो। तर त्यहीबीच पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। पौडेलको शिलान्यास भाषण पनि नसकिँदै स्थानीयले लखेटेका थिए। पौडेलको गाडीमा ढुंगामुढासमेत भएको थियो। समारोहपछि स्थानीयले शिलान्यासको शिलालेखसमेत तोडफोड गरेका थिए। 

त्यसको करिब ७ महिनापछि आइतबार फेरि सो क्षेत्रमा झडप भएको हो। यसपटक झडप हिंसात्मक नै भयो। सुरक्षाकर्मीले हानेको गोली लागेर ४ जनाले ज्यान गुमाएका छन्। प्रहरीसहित कम्तीमा ५० जना घाइते भएका छन्। आइतबार अपराह्न ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ। 

औद्योगिक क्षेत्र शिलान्यसका बेला विरोधमा उत्रिनेमध्ये धेरैजसो स्थानीय व्यक्ति नै थिए, तर आइतबारको झडपमा सहभागीमध्ये धेरैजसो मोतीपुरमा जग्गा कब्जा ओगटेका तर बाहिरका व्यक्ति छन्। 

बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रको २ सय बिघामा झन्डै २ महिनादेखि सयौंको संख्यामा जग्गा कुर्नेहरूको भीड लागिरहेको थियो। उनीहरू जग्गा पाइन्छ कि भनेर विभिन्न जिल्लाबाट आएका थिए। बिहान आउँथे, दिनभर बस्थे र साँझ फर्किन्थे। 

जग्गा अतिक्रमण रोक्न गत भदौ २९ गते स्थानीय प्रशासनले अहिले कर्फ्यु लगाएको क्षेत्रमै निषेधाज्ञा जारी गरेको थियो। बनाइएका टहरा सुरक्षाकर्मीले  भत्काइदिएका थिए। जग्गा कुरेकाहरू निषेधाज्ञालाई पनि नटेरेर भेला भइरहेका थिए। 

एमालेले कांग्रेस र एकीकृत समाजवादीले आफ्ना कार्यकतालाई गिरोहका रूपमा परिचालन गरेर जग्गा अतिक्रमण गराएको आरोप लगाउने गरेका छन्। उता कांग्रेसलगायतका दल भने स्थानीयसँग सहमति नगरी, ईआईए पनि पूरा नभई लोकप्रियताका लागि विष्णु पौडेलले हतारहतार शिलान्यास गर्न खोज्दाको परिणाम भएको दाबी गर्छन्। 

विकास र सुकुमवासीका नाममा राजनीतिक स्वार्थका कारण मोतीपुर क्षेत्र पटकपटक रणमैदान बनेको धेरैको बुझाइ छ।

यो पनि ​: मोतिपुरमा गोली लागेर चार सर्वसाधारणको मृत्यु,  १९ प्रहरीसहित कयौँ घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .