ad ad

समाज


मोतिपुरमा गोली लागेर चार सर्वसाधारणको मृत्यु,  १९ प्रहरीसहित कयौँ घाइते

मोतिपुरमा गोली लागेर चार सर्वसाधारणको मृत्यु,  १९ प्रहरीसहित कयौँ घाइते

नेपालखबर
असोज २४, २०७८ आइतबार २३:२४, काठमाडौँ

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार अपरान्ह झडप हुँदा चार जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये तीनको सनाखत हुन सकेको छैन। एकजनाको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए। 

उनका अनुसार मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन्। 

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए। 

मृत्यु भएकाहरु सबै सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ।

प्रहरीले त्यहाँका अस्थायी टहराहरूसमेत भत्काएको छ। झडपमा कैयौँ घाइते भएका छन्।

औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। 

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए। करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । 

वि.सं. २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । 

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो।

उक्त झडपका क्रममा एसपीसहित १९ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, हवल्दार डिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तिलबहादुर धामी, रुद्रबहादुर शाही, जनकराज जोशी, रबिन्द्र कुमार गौड र चुमानसिंह थापा घाइते भएका छन्। 

जवानहरु सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त जिसी, लोकनाथ खनाल, गणेश रावत, प्रेम बिक, सुरज दयाल र कृष्णबहादुर थापा घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। 

सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरी बसेकालाई प्रहरीले बल प्रयोग गरेर हटाउन थालेपछि झडप भएको हो। अहिले त्यहाँ प्रशासनले कर्फ्यु लगाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .