समाज


काठैकाठले फेरि ठडियो काष्ठमण्डप, तिहारमा गजुर खुल्दै

काठैकाठले फेरि ठडियो काष्ठमण्डप, तिहारमा गजुर खुल्दै

काष्ठमण्डप पुन: निर्माण कार्य ९५ प्रतिशत सकिएको छ। तस्बिर: विक्रम राई

आइतबार दिउँसो केही कामदारहरु काष्ठमण्डपको दोस्रो तल्लाको उत्तरी छानोमा झिँगटी लगाउने काममा व्यस्त थिए। दोस्रो तल्लाको बार्दलीबाट काम हेरिरहेका काष्ठमण्डप पुनर्निर्माण समितिका उपाध्यक्ष तथा संस्कृतिविद् तेजरत्न ताम्राकार प्रफुल्लित थिए। 

‘अब यो तीन दिनको काम हो। योसँगै ९५ प्रतिशत पुनर्निर्माणको काम सकिएको छ,’ पहिलो दिनदेखि नै काष्ठमण्डप पुनर्निर्माणमा खटिएका ताम्राकारले भने, ‘केही अवरोध नआए तिहार आसपासमा नेपालको एक मुख्य सांस्कृतिक धरोहर खडा हुनेछ।’

ताम्राकारका अनुसार काष्ठमण्डप पुनर्निर्माणको मुख्य चुनौती नै तीन तल्लामा छाना राख्नु थियो। अहिले उत्तरी भागबाहेक सबै भागमा छाना राखिसकेपछि उनी दंग छन्। उमेरले ७० वर्ष नाघिसकेका यी पुरातत्वविद्ले जीवनमा २५ बढी सम्पदाहरु पुनर्निर्माण गरिसकेका छन्। जीवनको उत्तरार्धमा काष्ठमण्डपसम्पन्न गर्न पाउँदा जीवन नै पूर्ण भएको आभास उनलाई भएको छ।

२०७२ सालको भूकम्पले ध्वस्त बनेको काष्ठमण्डप सुरुमा १२औं शताब्दीमा निर्माण भएको विश्वास गरिन्थ्यो। तर, यसपटक पुनर्निर्माणका क्रममा ५ औँ शताब्दीको काठ पनि भेटिएपछि यो अझै पुरानो रहेको प्रमाणित भएको ताम्राकार बताउँछन्।  

छानो हालेसँगसँगै तेस्रो तल्लामा आँखीझ्याल राख्ने काम पनि चलिरहेको छ। आँखीझ्याल बनिसकेको र फिट गर्न बाँकी रहेको ताम्राकारले बताए। त्यसबाहेक सरसफाइबाहेक काष्ठमण्डपका सबै काम सकिइसकेको छ। 

मूल गजुर राख्ने काम गत साउनमै सम्पन्न भइसकेको थियो, जसलाई अहिले छोपेर राखिएको छ। साउन दोस्रो साता काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो। गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो।

संस्कृतिविद् ताम्राकार कोभिडका कारण पुनर्निर्माणको काम केही ढिलो भए पनि अरुबेला कामको गतिमा कमी नआएको बताउँछन्। उनले सम्पूर्ण कामहरु आफ्नो परम्परा संस्कृतिअनुसार नै भएकाले विश्वमा सम्पदा जोगाउने विषयमा काष्ठमण्डपको पुनर्निर्माण प्रेरणा बन्ने बताए। 

‘नेपाली वास्तुकला, परम्पराअनुसार काम भएको छ। एउटा पनि फलामका किला ठोकेको छैनौँ। काठकै किला छन्,’ ताम्राकारले भने, ‘नेपालमा मात्रै होइन आफ्नो संस्कृतिलाई कसरी जोगाउनुपर्छ भन्ने उदाहरण हामीले विश्वलाई पनि दिएका छौँ।’

अब उद्घाटनका लागि क्षमापूजा गर्नुपर्छ। गुरुहरुसँग सरसल्लाह गरेर साइत जुराउनुपर्छ। यो राष्ट्रको सम्पत्ति भएकाले सरकार, स्थानीय निकाय, समिति, नेवार समुदायका अगुवाहरुसँगको छलफलपछि उद्घाटनको दिन तय गरिने ताम्राकारले जानकारी दिए। 

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख दिइसकेको समितिले जनाएको छ। 

ऐतिहासिक मान्यताअनुसार काठमाडौंको नाम यही काष्ठमण्डपबाट रहेको हो। सुरुमा स्थानीयले पुरानै शैलीमा काष्ठमण्डप बनाउनुपर्ने र कङ्क्रिटको प्रयोग गर्न नदिने भन्दै विरोध जनाएका थिए। पछि स्थानीयसँगको सहमति पश्चात पुनर्निर्माण समिति बनाएर काम अघि बढाइएको हो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएपछि २०७५ जेठमा महानगरपालिकाले जनताको प्रत्यक्ष सहभागितामा समिति बनाउने निर्णय गरिएको थियो। समितिबाट पारित नक्सा पुरातत्व विभागले स्वीकृत गरेपछि काम अघि बढेको हो। 

त्यसअनुसार काम गर्न ठूलो परिणाममा काठ चाहिने भयो। काठ व्यवस्थापनमा सरकारले ठूलो सहयोग गरेको ताम्राकार बताउँछन। 

वन मन्त्रालयको सिफारिसमा २०७५ साउनमा मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको ४०० केबी प्रसारण लाइनका लागि काटिने रुख काष्ठमण्डपलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयपश्चात समितिको सदस्यहरु बर्दिवासमा पुगेर काठ छनोट गरेका थिए। 

जसका लागि १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ। प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठ थिए भने बाँकी टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो।

असोज २६, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .