समाज


आज काग तिहार, यस्ता छन् कागका विशेषता

आज काग तिहार, यस्ता छन् कागका विशेषता

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार १:३०,

यमपञ्चक अन्तर्गत आज (शनिबार) काग तिहार पर्व मनाइँदैछ। काग तिहारमा कागको पूजा गरी मीठामीठा परिकार खान दिने चलन छ।

कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व मनाइन्छ। कागलाई यमराजको दूत मानिन्छ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक मान्यता छ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलनसमेत छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

आज कागलाई भोजन गराउँदा पितृले सोझै पाउँछन् भन्ने धार्मिक मान्यता छ।

सत्ययुगमा अमृतपान गरेका हुनाले काग अजम्बरी चरा मानिन्छ । त्यो बेलामा देवता वर्गले एकअर्कासँग सञ्चार गर्न कागकै प्रयोग गर्ने गरेको किंवदन्ती छ।

मानवको विकाससँगै धर्तीमा विचरण गरेको प्राणी पनि काग हो भन्ने लोकोक्ति छ।

चराविद् डा हेमसागर बराल घर नजिक बसे पनि वनमा बसे पनि काग मानिसको साथी भएकाले बताए।

चराविद् बरालका अनुसार कागले मानिसले फालेका फोहर खाएर वातावरण सफा पार्ने, रोगव्याधीबाट मानिसलाई बचाउने, भूकम्प, बाढीपहिरो, बाघ, भालु, सर्पजस्ता मानिसका लागि खतरनाक जीवका बारेमा कराएर जानकारी दिँदै सचेत गराउँने काग गर्छ।

चरा प्रजातिलाई गीतारु र विरुत वर्गमा विभाजन गरिएको छ। त्यसमध्ये स्वर सुरिलो नभए पनि काग गीतारु अर्थात् गीत गाउने वर्गमा पर्छ । गीत नगाउने वर्गमा चील, गरुड, बकुल्ला, जलहाँस, परेवा, सुगालगायतका चरा पर्छन्।

विश्वमा पाँच दर्जन प्रजातिका काग

चराविद् बरालका अनुसार विश्वभर झन्डै पाँच दर्जन प्रजातिका काग पाइन्छ। तीमध्ये नेपालमा छ प्रजातिका काग पाइन्छ। नेपालमा पाइने पहिलो प्रजातिमध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको घर काग हो।

घर कागको घाँटी र छातीमा खरानी रङको फुस्रो रौँ र अन्यत्र कालो रङ हुन्छ । घर काग मानव बस्तीभित्रै बस्छ। यसको सङ्ख्या नेपालमा लाखौँको हाराहारीमा रहेको अनुमान छ।

तराईदेखि मध्य पहाडसम्म पाइने घर काग मानव जीवनसँगै अनुकूलन हुँदै जिउने गरेको पाइएको बरालले बताए।

दोस्रो प्रजातिमा कालो काग पर्छ । कालो काग मानव बस्तीबाट टाढा घना जङ्गलमा बस्छ। घर कागभन्दा केही ठूलो र टाउकोदेखि पुच्छरसम्म निक्खर कालो हुन्छ । यसले घर कागभन्दा कडा आवाज निकाल्छ। यसको उपस्थिति तराईदेखि मध्यपहाडी भेगमा पाइन्छ।

तेस्रो प्रजातिमा चार हजार मिटर उचाइमाथि अर्को थरी कालो काग पाइएको छ । यसले हिमाली भेगको रहनसहन बुझेको हुन्छ ।

चौथो प्रजातिमा राजा काग पर्छ । यो अन्य कागभन्दा आकारमा चीलजस्तै ठूलो हुन्छ। राजा कागको स्वर भने अन्य कागको जस्तो तिखो हुन्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad