बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ।
तमानखोला– ३ तमानबाट वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामे छन्। उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
पिकअप सडकदेखि करीब एक हजार २०० मिटर तल खसेको तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ। यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडक भएको ठाउँबाट तल खसेको हो।
रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ। शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए।
Shares

प्रतिक्रिया