समाज


अनुदान नआउँदा मदरसा बन्द हुने अवस्थामा

अनुदान नआउँदा मदरसा बन्द हुने अवस्थामा

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ९:३१,

सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय संकटमा परेको छ। माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक संकटको चपेटामा परेको छ।

आर्थिक अभावका कारण वीरेन्द्रनगर १० बेलघारीमा रहेको मुस्लिम समुदायको विद्यालयको अवस्था अहिले दयनीय अवस्थामा छ। तेह्र वर्ष अघिदेखि सञ्चालनमा आएको मदिना स्कूल चन्दा र अनुदानको भरमा चलिरहेको छ। झण्डै ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा उर्दु, अरबी, अङ्ग्रेजी र नेपाली भाषामा अध्ययन अध्यापन हुँदै आइरहेको छ।

आवश्यक दरबन्दी, भाषागत शिक्षक नहुँदा र सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि मदरसा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयका २० जना कर्मचारीमध्ये नौ जनालाई सरकारी अनुदानको रकमबाट र अन्य कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलब खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले बताए।

‘मदरसा सञ्चालनमा कठिनाइ भएपछि आधुनिक शिक्षामा समायोजन गरी सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरबन्दी दिने भनिएपनि आवश्यक शैक्षिक सहयोग पाएका छैनौँ’, उनले भने, ‘आर्थिक अभावले विद्यालय चलाउनै समस्या परेको छ।’

प्राथमिक र निम्नमाध्यमिक विद्यालय मात्रै सञ्चालन गर्दा मुस्लिम समुदायका विद्यार्थीले पढाइ छोड्ने भएपछि माध्यमिक तहसम्म सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताए। माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार तथा शिक्षकको अभावमा विद्यालय सञ्चालन गर्न सकस भएको उनको भनाइ छ। सरकारले दिँदै आएको अनुदान पनि कम हुँदै जानुले थप समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताए।

नेपाल सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको नगर शिक्षाका उपसचिव ललितबिक्रम सिंहले बताए। ‘सुर्खेतमा दुई वटा मदरसा सञ्चालन हुँदै आएका छन्’ उनले भने, त्यसमध्ये फैजुल प्राथमिक विद्यालय वीरेन्द्रनगरमा कुनै पनि शिक्षक दरबन्दी र अनुदान छैन भने मदिना माध्यमिक विद्यालय बेलघारीमा साढे पाँच लाख अनुदान रकम आएको छ।’

नगर शिक्षा उपसचिव सिंहका अनुसार माध्यमिक विद्यालय र प्राथमिक विद्यालय सञ्चालन भएका मदरसामा आवश्यक अनुदान र शिक्षकको दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad