समाज


एमसीसीसँग जोडेर 'फेक डकुमेन्ट' भाइरल बनाएपछि प्रहरीकहाँ पुगे कनकमणि

एमसीसीसँग जोडेर 'फेक डकुमेन्ट' भाइरल बनाएपछि प्रहरीकहाँ पुगे कनकमणि

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १३:११, काठमाडौँ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) बाट लाखौँ डलर लिएको भन्दै 'फेक डकुमेन्ट' भाइरल बनाइएपछि लेखक तथा पत्रकार कनकमणि दीक्षितले प्रहरीमा उजुरी दिएका छन्। 

दीक्षितले फर्जी सूचनामा आफ्नो नाम समेत जोडेर लाखौँ पैसा लिएको आरोप लगाइएपछि दोषीलाई कारबाही माग गर्दै नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा उजुरी दिएका छन्। 

उनले सोमबार भोटाहिटीस्थित ब्यूरो कार्यालयमा गएर उजुरी दर्ता गराएका हुन्।

'फर्जी सूचनाको प्रसारण अन्य देशमा जस्तै नेपालमा पनि संगठित हुँदैछ, जसको प्रमाण 'एमसीए'को भनि प्रसारित तथाकथित 'गोप्य मेमो' पनि हो', दीक्षितले भनेका छन्, 'जसमा मेरो पनि नाम परेको छ। दोषी व्यक्ति र/वा समूह पत्ता लगाएर कारवाही माग गर्दै साइबर क्राइम ब्यूरोमा जाहेरी दिएको छु। 

दीक्षितले सोमबार दिएको उक्त उजुरी साइबर क्राइम ब्यूरोमा ११३४ नम्बरमा दर्ता भएको छ। 

यसैबीच एमसीए–नेपालको काठमाडौंस्थित कार्यालयका प्रमुख एवम् कार्यकारी निर्देशक खड्गबहादुर विष्टको हस्ताक्षर कीर्ते गरी 'फेक' प्रचार गरिएको भन्दै उक्त संस्थाले विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेको छ।

एमसीए नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेमाथि कारबाही पनि माग गरेको छ।

यसलाई लिएर एमसीए नेपालले प्रहरीको साइबर ब्यूरोलाई भदौ २५ गते नै पत्राचार गरिएको पनि जानकारी दिएको छ। 'उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानूनी कारबाही अगाडि बढाउन एमसीए–नेपालले पहल गरिसकेको छ', सोमबार निकालिएको विज्ञप्तिमा भनिएको छ, 'यसबारे कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको छ।'

एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टको नक्कली हस्ताक्षर गरेर ‘एमसीसी कम्प्याक्ट अनुमोदनका पक्षमा अभियान’ चलाउन केही अखबार र टीभीलाई परिचालन गर्नुपर्ने झुटो सामग्री बनाउनेलाई एमसीए–नेपालले कारबाही माग गरेको हो।

सञ्चारकर्मी, सञ्चारमाध्यम र एमसीसीलाई योजनाबद्धरुपमा बदनाम गर्ने उद्देश्यसहित अफवाह फैलाउनेले नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको समेत दुरुपयोग गरेको अधिकारीहरुले बताएका छन्। 

नक्कली कागजातबारे एमसीए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन गरिसकेको छ। तर त्यो भ्रामक सामग्री सामाजिक सञ्जाल भाइरल भइरहेपछि कारबाहीका लागि पत्राचार गरिएको कार्यकारी निर्देशक विष्टले बताए। 

'उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचना कपोलकल्पित हुन्। त्यहाँ उल्लेख गरिएको जस्तो सञ्चारगृह र व्यक्तिसँग कुनै सहकार्य भएको छैन', उनले भनेका छन्, 'सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणबीच भ्रम फैलाउने असत्य सूचना सम्प्रेषण गर्ने प्रवृत्तिको एमसीए–नेपाल गम्भीर भत्सर्ना गर्छ। त्यस्ता सूचना फैलावटप्रति सजग रहन अनुरोध गर्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .