समाज


सुन तस्कर नाइके छाड्ने दुई न्यायाधीश कारबाहीमा

सुन तस्कर नाइके छाड्ने दुई न्यायाधीश कारबाहीमा

नेपालखबर
असार ४, २०७६ बुधबार १०:४७,

 तीन हजार ८ सय किलो सुन तस्करीका मुख्य नाइके भएको प्रमाणसहित मुद्दा दायर भएका राजेन्द्रकुमार शाक्य (आरके), विमल पोद्दार, राजकुमार दारुका, एसपी विकासराज खनाल र बिचौलिया रामकुमार तिवारीलाई धरौटी तथा साधारण तारेखमा रिहा गर्न आदेश दिने न्यायाधीश थीरबहादुर कार्की र उमेशकुमार सिंह कारबाहीमा परेका छन्।

सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा र हरिकृष्ण कार्कीले गरेको अनुसन्धानपछि न्यायपरिषद्ले न्यायाधीशहरु केदारप्रसाद चालिसे, मीरा खड्का र विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको प्रतिवेदनका आधारमा दुबै उपर कारबाही प्रक्रिया अघि बढाएको हो।

परिषद् स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनको अध्ययनपछि परिषद्ले कारबाही सिफारिसको माइन्युट बुधबार तयार गरेको थियो। परिषद्का अध्यक्षका हैसियतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाले माइन्युटमा हस्ताक्षर गरेका छन्।

परिषद्का अनुसार तत्कालीन उच्च अदालतका न्यायाधीश कार्की र सिंहलाई न्याय परिषद् ऐन  २०७३ को दफा १० अनुसार कार्यक्षमताको अभाव, दफा ११ अनुसार खराव आचरण वा आचार संहिताको गम्भीर उल्लंघन र दफा १२ अनुसार इमान्दारीपूर्वक कर्तव्य पालन नगरेको वा बद्नियत पूर्वकको काम कारबाही गरेको भन्ने आरोपमा सफाइ पेश गर्न पत्र काटिएको हो।

परिषद्ले तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्रलाभ कर्णको मुद्दा हाललाई तामेलीमा राख्ने निर्णय गरेको छ। अवकाश पाएका कर्ण र पौडेल विवादास्पद आदेश भएका इजलासमा संलग्न थिए।

प्रधानन्यायाधीश राणाको अगुवाईमा सुन तस्करी प्रकरणमा उच्च अदालतले गरेका आदेशको छानबिन गत चैतबाट सुरु भएको थियो।

न्याय परिषद्का अध्यक्ष रहेका प्रधानन्यायाधीश राणाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गोप्य छानबिन समिति गठन गरेका थिए। न्यायाधीश खतिवडाले काम थालेसँगै उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल सहित सबै न्यायाधीश काठमाडौं तानिएका थिए।

सरकारले गठन गरेको उच्च स्तरीय अनुसन्धान टोलीले पक्राउ गरेर दसी प्रमाणसहित बुझाएका सुन तस्कर एकपछि अर्को गर्दै रिहा भएपछि उच्च अदालत विराटनगरले गरेका आदेश विवादमा आएका थिए।

sun taskarएसपी खनाल र तिवारी

न्याय सेवाका एक उच्च अधिकारीका अनुसार सहसचिव ईश्वरराज पौडेल नेतृत्वको अनुसन्धान टोली अहिले पनि गोप्य रुपमा सुन तस्करीकै अनुसन्धानमा रहेका छन्। अनुसन्धान जारी नै रहेका समयमा उच्च अदालत विराटनगरले एकपछि अर्को अप्रत्यासित आदेश गर्दै सुन तस्करलाई छाडेको थियो।

सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य तस्कर, संलग्न प्रहरी अधिकारी र हत्या तथा अपहरणमा संलग्न आरोपीहरुलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उच्चले जिल्लाको आदेश उल्ट्याउँदै मुख्य अभियुक्तलाई धरौटीमा छाडने आदेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad