फरवार्ड मीना देउवाको ह्याट्रिक सहयोगमा साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित दर्ता गरेको छ।
बंगलादेशको ढाकास्थित किंग्स एरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकामाथि ७-० को फराकिलो जित हात पारेको हो।
वर्षाका कारण किंग्स एरिनाको मैदान खेल्न अयोग्य भएपछि अभ्यास गर्ने मैदानमा खेल भएको थियो। निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भएको खेलमा मिनाले ह्याट्रिक गरिन्।
पूर्णिमा राईले दुई तथा समिक्षा मगर र सरिता नाथले समान एक गोल आफ्नो नाममा गरे। पहिलो हाफमा ५ गोल गरेको नेपालले दोस्रो हाफमा थप २ गोल गर्यो।
च्याम्पियनसिपमा दोस्रो जित निकालेको नेपालको ६ अंकमा दोस्रो स्थानमा छ। लगातार तेस्रो जित निकालेको घरेलु टोली बंगलादेश भने ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
एक खेलमा जित निकालेको भुटान ३ अंकमा तेस्रो स्थानमा छ। लगातार ३ खेलमा हार भोगेको श्रीलंका अंकबिहीन हुँदै तालिकाको पुछारमा छ।
लिग चरणको आफ्नो चौथो खेलमा नेपालले बिहीबार पुनः श्रीलंकाविरुद्ध खेल्नेछ। डबल राउण्ड रोविनमा भएको च्याम्पियनसिपमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
Shares

प्रतिक्रिया