ad ad

रिभ्यु


पशुपतिप्रसाद २: कसको कथा हो?

पशुपतिप्रसाद २: कसको कथा हो?

श्रीजु सरल
कात्तिक ५, २०८० आइतबार १८:५३, काठमाडौँ

यतिबेला देशभरका हलहरूमा नेपाली चलचित्र 'पशुपतिप्रसाद-२: भष्मे डन' प्रदर्शनरत छ। शनिबारबाट प्रदर्शनमा आएको पशुपतिप्रसाद-२ दीपेन्द्र के खनाल निर्देशित पशुपतिप्रसाद-१ को सिक्वेल हो। तर, सिक्वेल नै भए पनि पशुपतिप्रसाद-२ ले ओरिजिनल कथालाई निरन्तरता भने दिँदैन। बरु, ओरिजिनल कथाकै एक पात्र 'भष्मे डन'को चरित्रमाथि कथा हाल्छ।

फिल्मले सुनाउने भष्मे डनको कथा आखिर कस्तो छ त? भष्मे डनको चरित्रमाथि लेखक, निर्देशक तथा कलाकारले कत्तिको न्याय गर्न सकेका छन् त? थपिएका नयाँ पात्रहरू स्क्रिनमा र दर्शकको मनमा कत्तिको जम्लान्? पुराना पात्रहरू कहाँ पुगे? यी र यस्तै प्रश्नको वरिपरि रहेर केही कुरा गरौँ।

. पशुपतिप्रसाद- भर्सेज पशुपतिप्रसाद-
यो सिक्वेल सिनेमाको चर्चा आपसको तुलनाबाटै सुरु गरौँ न त। पशुपतिप्रसाद-१ र पशुपतिप्रसाद-२ दुवै यथार्थपरक धारणाबाट बनेका फिक्सन फिल्म हुन्। तर, यही समानताबीच पनि एउटा भिन्नता भेटिन्छ। त्यो के हो भने पहिलो फिक्सनल कम र रियलिस्टिक ज्यादा लागिदिन्थ्यो भने दोस्रो रियलिस्टिक कम, फिक्सनल ज्यादा लागिदिन्छ। फिल्मका केही दृश्य हेर्दा कताकता यसपटकका पात्रहरू लौकिक मानवबाट अलौकिक (सुपरह्युमन) बन्ने ताकमा त छैनन् भनेझैँ पनि लाग्छ।

पहिलोमा भूकम्पपश्चातको कथा भनिएको थियो भने दोस्रोमा कोरोनापश्चातको कथा छ। भावना र विचारको सम्मिश्रण दुवैमा छँदै छ। यद्यपि, पहिलो भावनाप्रधान फिल्म बनेको थियो भने दोस्रो विचारप्रधान बन्न पुगेको छ।

यी भिन्नता किन देखिए त? किनभने, पहिलोमा कथा जन्मियो र त्यसले 'पात्रहरू' जन्मायो। पात्र-पात्रबीचको सम्बन्धले भावना पैदा गर्‍यो। दोस्रोमा भने पात्र जन्मिएपछि बल्ल त्यसले 'कथाहरू' जन्मायो। कथा-कथाबीचको सम्बन्धले विचारको माग गर्‍यो।

फलत: भावनाप्रधान पशुपतिप्रसाद हिजो नम्र थियो, विचारप्रधान पशुपतिप्रसाद आज उग्र छ।

. भष्मे डन भर्सेज भष्मे डन
खैर, फिल्मको हकमा हिजोको पशुपतिप्रसाद नम्र र आजको पशुपतिप्रसाद उग्र भए पनि पात्र

भष्मे डनको हकमा यो सूत्रले काम गर्दैन।  किनभने, यसको ठीक विपरीत भष्मे डन भने हिजो उग्र थियो, आज नम्र छ।

किनभने, भष्मे डन आफैले आफूलाई डन मान्न आज हिचकिच गर्छ। ऊ आफूमा भष्मे डनभन्दा पनि भुवनबहादुर भामलाई खोजी बस्छ। हुन त, खोजेकै मात्र हो भुवनबहादुर भाम, भेटिएकै त कहाँ हो र? त्यसो भए भष्मे डन र भष्मे डनबीच कुन हिजोको र कुन आजको कसरी छुट्याउने?

नआत्तिनुस्, सजिलो छ। स्पेनको जर्सी लगाएर क्याण्डी क्रस खेल्दै गरेको त्यो हिजोको भष्मे हो भने यो अर्जेन्टिनी जर्सीमा पब्जी इन्स्टल-अनइन्स्टल गरिरहेको चाहिँ आजको भष्मे! नहाँस्दा हो यति गहिरिएर नियाल्नुपर्ने। हाँस्यो भने त चिन्न अझै सजिलो छ। हाँस्दा सुन टलक्क टल्किए त्यो सिधै आजको भष्मे!

. भष्मे भर्सेज डन
यत्तिको भिन्नता देखिसकेपछि के भन्न सकिन्छ भने हिजोको भष्मे डन थियो, यसमा कसैलाई कुनै दोमन नहोला। तर, आजको भष्मे भने आफै दोमन भई बसेको देखिन्छ। मानौँ उसको मन भष्मे र डनलाई दुई भाग लगाएर बाँडिएको छ। किन त? किनभने, पशुपतिलाई साक्षी राखेर उसले पशुपतिप्रसादको नाममा कसम खाएको छ- अबउपरान्त ऊ कुनै लफडाबाजी गर्दै हिँड्नेछैन। र यसमा ऊ गम्भीर र इमानदार छ। विगत ७ सालदेखि उसको डनगिरी उसको मनको प्यासिभ मोडमा छ। ऊ अब हिंसा पब्जीमा मात्रै गर्छ। त्यति त आदतको मन राख्नलाई पनि त चाहियो।

खैर, कसम खाएकाले भष्मेले डन हुन नसकेको कुरा तार्किक लाग्दालाग्दै पनि। तर, यो तर्कले उसको चरित्र चित्रणलाई धेरैबेर धानिदिन सकेको छैन। यस्तै तर्कमा भष्मेले कुटाइ खाइरहनु, पात्र र परिस्थितिबाट हुने हेपाइ सहिरहनु दर्शकलाई भने सह्य नलाग्न सक्छ। एउटा बिन्दुमा पुगिसकेपछि दर्शकलाई पक्कै लाग्नेछ, भष्मेको अन्तर्द्वन्द्व अब अन्त्य होस्, कसम तोडियोस्। भष्मे र डनमा अब ऊ नबाँडियोस्। ऊ अब त सिंगो-सग्लो भष्मे डन भएर मैदानमा उत्रियोस् !

ऊ मैदानमा पूर्ण भष्मे डन भएर नउत्रेको पनि होइन। तर, दर्शकको हुटहुटीको राँको निभ्दै गर्दा। चरित्र विकासको यो स्लो-मोसनले दर्शकलाई पात्रको संवेगसँग पर्याप्त जोडिन देला त?

. भष्मे भर्सेज भुवन
भष्मेले भुवनबहादुरको खोजीका लागि गरेको संघर्ष फिल्मको पहिलो हाफमा अति स्पष्ट छ। तर, दोस्रो हाफमा पुगेर भने आफ्नो संघर्ष केका लागि थियो भन्नेमा भष्मे आफै अस्पष्ट भएको हो कि?

होइन भने एकपटक ज्यानको बाजी लगाएर मृत्युको मुखैसम्म पुगेर फर्किएको उसले आफ्नो संघर्षलाई लिनुपर्ने जति गम्भीरतापूर्वक किन लिँदैन? स्पोइल नगरी भन्नुपर्दा फिल्मको क्लाइमेक्सतिर ऊ जानैपर्ने ठाउँमा नगएर त्यस्तो पिक आवरमा किन भड्किएर हिँडिरहेको छ? न ऊ आपतकालीन् अवस्थामा छोडेर हिँडेको बा भए ठाउँ जान्छ, न त भेट्नैपर्ने दलालकहाँ नै जान्छ। ऊ बेला न कुबेला वैकुण्ठकहाँ जान्छ।

भष्मे र भुवन एकैठाउँ हुनुपर्ने त्यो ऐन मौकामा भुवनलाई चटक्कै बिर्सेर भष्मे स्वयं  वैकुण्ठकहाँ किन पुग्छ? ऊ आफै त्यहाँ गएको हो या लेखकले उसलाई जबर्जस्ती त्यहाँ पठाएका हुन्? भष्मे र भुवनलाई एक हुन नदिएर लेखकले ठीक समयमा ठीक द्वन्द्व सिर्जना गरेका हुन् त? यस प्रश्नको जवाफ खोज्ने जिम्मा दर्शकलाई नै।

. कथा भर्सेज व्यथा
अघि पनि भनिहालियो, पशुपतिप्रसाद-२ पात्रले जन्माएको कथाहरूको प्याकेज हो। जहाँ भावना गौण रूपमा छ भने विचार टड्कारो छ।

पशुपतिप्रसाद-१ मा जस्तो एक्लो सग्लो कथा होइन, यसमा हरेक पात्रहरूको आ-आफ्नै कथा छ। स्वस्तिमाको माताजीको पात्र, सौगातको कालीप्रसादको पात्र, संजोगको झापाली ठिटोको मौन पात्र हुँदै दुई बाहरूको समेत आफ्नै कथा-व्यथा छ। जुन स्पष्ट छ। यति धेरै पात्रहरूको छुट्टाछुट्टै कथा, त्यो पनि स्पष्ट भन्न सक्नु लेखकबाट प्रशंसायोग्य काम भएको हो। तर, केहीको छोडेर प्रायः पात्रको कथालाई अझै इन्टेन्स बनाउन सकिन्थ्यो कि? फिल्ममा कति दृश्यहरू लामा लाग्छन्, तिनलाई छोट्याएर पनि माताजी र भष्मेको सम्बन्धलाई अझै इन्टेन्स हुन समय दिनुपर्थ्यो कि? कालीको व्यथामा दर्शकलाई दुख्ने मौका अझै बढी मिल्नुपर्थ्यो कि?

अनि कथा फरक बोकेर पनि उस्तैउस्तै व्यथाहरू भोगिरहेका यी पात्रहरूलाई एकअर्कासँग अझै बलियो गरी जोड्न सकिन्थ्यो कि?

. कथा भर्सेज कथावाचन
फिल्ममा सबै पात्रको आ-आफ्नो मन छुने कथा छ। विविधताले फिल्मलाई रोचक त बनाउँछ नै तर त्यही कारण कथावाचन चुनौतीपूर्ण पनि हुन्छ। पशुपतिप्रसाद-२ लाई पनि यो चुनौतीको सामना गर्न हम्मे परेको हो कि? भर्खरै एउटा पात्रको कथा भनिरहेको क्यामराले अचानक अर्को पात्रको कथा सुनाउन थाल्दा दृश्यहरूले सलल बग्न निकै संघर्ष गरिरहेझैँ लागिदिन्छ।

धेरै पात्रको धेरै कथा भन्नुपर्दा फिल्मको कथावाचनले एउटा सूत्र समाएको छ। सूत्रबद्ध हुँदै गर्दा फिल्म धेरै ठाउँमा अनुमानयोग्य भइदिएको छ। यता एउटै शैलीका घटना शृङ्खलाबद्ध रूपमा घटिदिँदा उता दर्शकहरूको उत्सुकताको पारो पनि घटिदिने हो कि भन्ने एउटा जायज चिन्ता हो।

फेरि पनि पुराना पात्रहरूको माझमा नयाँ पात्रहरूलाई फिल्ममा स्थापित गर्न मिहेनत त लाग्छ नै। त्यही नयाँमाथि मिहेनत गर्ने नौलो जोसमा हुन सक्छ, पुरानो पात्रमाथि उत्तिकै मिहिनेत नपुगेको हो कि? जे होस्, छाती चौडा र शिर ठाडो गरेर हिँड्ने पहलमान कालीको चरित्रको छेउमा लफडा नगर्ने कसम खाएर आफ्नै टाउको समात्दै हिँड्ने भष्मेको चरित्र फिक्का लागिदिन्छ।

खुलापत्रमार्फत् वार्निङ दिइकनै कसम तोडिसकेपछि पनि पछाडिबाट वार गर्ने भष्मेको चरित्रमाथि अन्य चरित्र हाबी भइदिएका हुन् कि?

यद्यपि, पछाडिबाटै वार गर्ने संजोग रसाइलीको झापाली पात्रको चरित्र भने छोटो र मौनप्रायः भइकन पनि सन्तुलित लागिदिन्छ। त्यसो त रवीन्द्र सिंह बानियाँको 'गुड भर्सेज इविल' पात्र

वैकुण्ठको चरित्र पनि नेगेटिभ क्यारेक्टर आर्क बोकेको स्पष्ट पात्र हो।

पुनश्च:
जाँदाजाँदै, सिक्वेलमा ओरिजिनल कथालाई नभएर पात्रको पृष्ठभूमिमाथि फिल्म बनाउनु चुनौतीपूर्ण काम हो। पशुपतिप्रसाद-२ ले उक्त चुनौतीको सामना गरीकन नेपाली सिनेमामा सम्भवत: यो नौलो अभ्यासको इमानदार प्रयास गरेको छ। फिल्मले जसरी पशुपतिप्रसाद-१ का पुराना पात्रहरूलाई जिउँदो राख्ने प्रयास गरेको छ, त्यो फिल्मको सुन्दर पक्षमध्ये एक हो।

अभिनयमा सबैजनाको प्रस्तुति दमदार हुँदाहुँदै पनि चरित्रका हिसाबले दर्शकमा मतभिन्नता देखिन सक्छ। तोकेरै भन्नुपर्दा सौगातका लागि कालीको चरित्र सौगात नै दरिन पनि सक्छ।

स्वस्तिमालाई माताजीको चरित्रले माताजीकै कृपा प्राप्त नहोला भन्न सकिन्न। संजोगले निभाएको मौन पात्रको अभिनयले अब बन्ने फिल्महरूमा उनको बोलवाला बढ्ने अनुमान पनि सहजै लगाउन सकिन्छ। अनि, विपिनको अभिनय? भष्मेको चरित्र लेखनमा कमजोरी हुनुका बाबजुद विपिनले आफ्नो तर्फबाट जुन प्रस्तुति दिएका छन्, अभिनय चिन्ने दर्शकहरूको हृदयमा उनले हालेको जग हल्लिनेवाला भने छैन। 

अन्तिममा, दर्शकहरूलाई अर्को एउटा प्रश्न- क्लाइमेक्समा जुन हात देखियो, त्यो हात कसको हो? कतै 'पशुपतिप्रसाद-३ : भष्मे भर्सेज काली'को त होइन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .