रिभ्यु


शिक्षा विधेयकका केके विषयमा जुट्यो सहमति?

शिक्षा विधेयकका केके विषयमा जुट्यो सहमति?

नेपालखबर
असार १५, २०८२ आइतबार १६:२४, काठमाडौँ

सरकार र नेपाल शिक्षक महासंघबीचको सहमतिअनुसार आज असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पास हुने दिन हो। तर प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत विधेयक पारित गर्न सकेको छैन। समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको बताए।  

थापाले भने, 'विधेयकमाथि दैनिकरूपमा छलफल भइरहेको छ। दफावार छलफल भइरहेको छ। विधेयकलाई प्रतिनिधिसभामा लैजान अझै केही समय लाग्ने देखिएको छ।'

आज बिहान बसेको बैठकले शिक्षकले पुनर्ताजगी तालिम लिनुपर्ने सहमति जुटाएको छ। त्यस्तै, शिक्षा संकायबाहेकले शिक्षक लाइसेन्सको परीक्षा दिने पाउने गरी सहमति जुटेको थापाले बताए। केन्द्रले शिक्षकलाई दरबन्दीमा पठाउँदा पायक पर्ने ठाउँमा गर्नुपर्ने सहमति पनि समितिमा जुटेको छ।

विद्यालय मर्जको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। पूर्वप्राथमिक शिक्षा (ईसीडी) सरकारी र निजी विद्यालयमा दुई वर्ष राख्ने सहमति जुटेको छ।

यसअघि, सरकारी विद्यालयले एक वर्ष ईसीडी कक्षा सञ्चालन गरेर कक्षा १ मा भर्ना गर्थे। त्यस्तै, निजी विद्यालयले प्ले ग्रुप, नर्सरी, यूकेजी र एलकेजी गरी ३, ४ वर्ष पढाएपछि मात्रै कक्षा १ मा भर्ना गर्थ। सरकारले ईसीडीका शिक्षकहरूको योग्यता, उनीहरूलाई शिक्षक मान्ने वा नमान्ने, न्यूनतम पारिश्रमिक दिने वा नदिने, सरकारी पदाधिकारीका छोराछोरीलाई पनि सरकारीमै पढाउनुपर्ने र बालविकासका कर्मचारीका विषयमा भइरहेको छलफल जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ, नेकपा (मोआवादी केन्द्र)की सांसद रेखा शर्मा, नेकपा (एमाले)की सांसद विद्या भट्टराईलगायत सांसदले बालविकास कर्मचारीलाई पनि शिक्षकको मान्यता दिनुपर्ने राय राखेका छन् ।

सांसदहरूले विद्यालयमा छात्रामाथि हुने दुर्व्यवहार र जातीय आधारमा हुने विभेदको गुनासो सुन्ने र जिम्मेवारी कसले लिने भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने राय राखेका छन्।

आजै शिक्षकहरूको एक समूह विधयेक संसद्‌मा टेबुल गर्न माग राखेर सिंहदरबार पुगेका थिए। गत वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच विद्यालय शिक्षा ऐन असार १५ गतेभित्र पारित गर्नेसहित नौबुँदे सहमति भएको थियो। गत चैत २० गतेदेखि महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेको थियो। 

यसपटक पनि ऐन जारी गर्न सरकारले आलटाल गरिरहेको भन्दै शिक्षकहरूले आपत्ति जनाइरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad