राजनीति


विद्या भण्डारी भन्छिन् : मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ

विद्या भण्डारी भन्छिन् : मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ

सुमन सुस्केरा
माघ १६, २०८१ बुधबार १९:५०, विराटनगर (मोरङ)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता देखेर काठमाडौँमा भुइँचालो गएको टिप्पणी गरेकी छन्। फेरि एमालेको सक्रिय राजनीतिमा फर्किने हल्लाका बीच विराटनगर पुगेकी भण्डारीले यस्तो टिप्पणी गरेकी हुन्। 

बुधबार बिहान विराटनगरको होटल बिगमा नेता कार्यकर्तासँग उनले भनिन्,' दलीय राजनीतिमा नरहेर पनि अभियानको रूपमा काम गर्न सकिन्छ, मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ, यो अभियान जारी रहन्छ।’ यहाँ उनले एमालेनिकट बुद्धिजीवी तथा प्राध्यापकहरूसँग नेपालको शिक्षा नीति, त्यसले पारेको अप्ठेराको बारेमा पनि धारणा लिएकी थिइन्। उनले आफ्नो अभियानलाई लिएर आफूलाई काठमाडौँमा भइरहेका टीकाटिप्पणीले केही फरक नपर्ने पनि बताइन्। उनले  राजनीति, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा युवा रोजगारीको विषयलाई सुधार गर्न आफ्नो अभियान रहेको प्रष्ट पारिन्।  

भण्डारी माघको १४ गतेदेखि विराटनगर र आसपासका क्षेत्रका विभिन्न कार्यक्रममा सक्रिय छन्। १४ गते ११ बजे विराटनगर विमानस्थलमा ओर्लिएकी उनले १ देखि २ बजेसम्म नेकपा एमालेनिकट अखिल नेपाल महिला संघका नेता कार्यकर्तासँग छलफल गरिन्। लगत्तै पत्रकार सम्मेलनमा उनले आफू अहिले सक्रिय राजनीतिमा आउने बेला नभए पनि त्यो समय आउने बताएकी थिइन्। राजनीतिमा फर्किँदा हिजो एमालेमा नै रहेकोले फर्किँदा पनि त्यहीँ फर्किने उनको भनाइ थियो।  

त्यही दिन उनले अनेरास्ववियु तथा युवा वैज्ञानिकहरूसँग भेट गरेकी थिइन्। उनको राजनीतिक भेटघाट १५ गते पनि जारी रह्यो। बिहान ८ बजेदेखि १० बजेसम्म विराटनगरका राजनीतिक पार्टीका नेता कार्यकर्तासँग भेटेकी भण्डारी दिउँसो इटहरीमा रहेको जनता माविको ६८ औं स्थापना दिवस तथा अभिभावक भेला एवम् नव निर्मित भवनको उद्घाटनमा पुगिन्। भण्डारीले त्यहाँ पनि राजनीतिले लय लिन नसकेको टिप्पणी गरिन्। पार्टी भनेको कमिटीदेखि कमिटी मात्रै नभएको बताएकी थिइन्। उनले इटहरीमा पनि अनौपचारिक भेटघाटलाई उसै गरी व्यस्तता राखिन्। ‘हाम्रो राजनीति बरालिएको छ, उनले भनिन्, चुनाव जित्ने अनि फेरी चुनाव जित्ने मात्रै भएको छ।’ उनले पार्टी कमिटीभन्दा बाहिर पनि पार्टी भएको बताइन्। 

होटेल सोल्टी इटहरीमा एमालेका नेता कार्यकर्तासँग छलफलको क्रममा उनले अहिले आफू राष्ट्रपतिको भूमिकामा नभएकोले आफ्नो भूमिका एमालेमा त होला नि? भन्दै आफ्ना समकालीन र अग्रजहरूसग भेटघाट गर्ने योजनासहित कोसी प्रदेश आएको सुनाएको थिइन्। 

त्यसपछि उनी मोरङको बुढीगंगा गाउँपालिकास्थित प्रादेशिक मनमोहन प्राविधिक विश्वविद्यालयको अनुगमनमा गइन्। त्यहाँ जाँदा उनका पछि नेता कार्यकर्ताहरूको ठूलै भिड देखिन्थ्यो। उनले त्यहाँ भने राजनीतिक कुरा धेरै गरिनन्। विश्वविद्यालयको सुधार र त्यहाँ आवश्यक सहयोगको बारेमा सोधी खोजी गरिन्। प्राकृतिक चिकित्सा तथा योग विज्ञानको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। 

शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा युवा रोजगारीको विषयलाई सुधार गरेर जानुपर्छ भन्ने आफ्नो अभियान रहेको उनको भनाइ थियो। उनले त्यहाँ विश्वविद्यालयको प्रस्तुतीकरण सहित प्रयोगशालाहरूको अवलोकन गरेकी थिइन्।  

त्यसलगत्तै उनी चूडाकवि प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय वादविवाद प्रतियोगिता तथा महिला स्वयंसेविका सम्मानमा व्यस्त भइन्। पूर्वराष्ट्रपति भण्डारीले १५ देखि ६० वर्ष उमेर समूहलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन्।  'यो उमेरको  जनसङ्ख्यालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सक्ने हो देशले धेरै फाइदा लिन सकिन्छ' उनले भनिन्। 

देशको विकासका लागि राजनीतिक स्थिरता, दिगो शान्ति र सुशासन अपरिहार्य रहेको उनको भनाइ थियो। ‘मुलुकमा रहेका सम्पूर्ण राजनीतिक दल पार्टीका नेता कार्यकर्ता र सदस्यहरूले उच्च तहको लोकतान्त्रिक संस्कार र संस्कृति आत्मसात् गरी जस्तोसुकै परिस्थितिमा पनि असल अभ्यासबाट विचलित हुनु हुँदैन,' उनले भनिन्, यसबाट नै देश र दलहरूको लोकतान्त्रीकरणको प्रक्रियालाई थप टेवा पुग्ने तथा दलहरूको लोकतान्त्रीकरणले कहिले पनि कसैले लोकतन्त्रमाथि चुनौती खडा गर्न सक्दैन।’ 

दलका नेता तथा कार्यकर्ताको सैद्धान्तिक वैचारिक  निष्ठा एवम् इमान्दारिता र सक्रियतालाई आधार मानेर नै जनताले आवधिक मूल्याङ्कन गर्ने भएकोले जुनसुकै बहानामा पनि यस कुरामा आँच आउन नदिन आग्रह गरिन्।  देशमा समृद्धि हासिल गर्ने साझा विषयमा उच्च स्तरको मतैक्यता कायम गर्दै देश र जनताको पक्षमा अविछिन्न अविचलित रूपमा खट्नु पर्ने बताइन्। 

लगतै उनले एमाले निकट मदन भण्डारी प्रतिष्ठानका नेता तथा कार्यकर्तासँग भेटघाटमा बुधबार साँझसम्म भइन्। माघ १९ गतेसम्म विराटनगरमा नै रहने तालिका रहेकोमा उनले यो बीचमा ट्रमा सेन्टरको अनुगमन, इन्जिनियरिङ कलेज धरान, सरस्वती मावि झोराहाटको वार्षिक उत्सव, एलिट क्लबमा राजनीतिक विषयमा छलफलमा सहभागी हुने, पार्टी कार्यकर्तासँग भेटघाट, नेपाल टेलिभिजन इटहरी च्यानलको वार्षिकोत्सव तथा सुनसरीका राजनीतिक पार्टीका कार्यकर्तासँग भेटघाट गर्नेछिन्।  

विश्लेषक भन्छन् : राजनीति गलत बाटोमा हिँड्दा राष्ट्रपतिको सक्रियता स्वागतयोग्य

पूर्व राष्ट्रपतिको यो व्यस्ततालाई राजनीतिक क्षेत्रका जानकारहरूले सकारात्मक रूपमा लिएका छन्। राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले यसलाई मुलुकको आवश्यकताको रूपमा लिएको बताएका छन्। ‘मुलुकको राजनीति सही लयमा हिँडिरहेको भए पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रियता देखाउनु त्यति राम्रो हुन्थेन,' उनले भने, मुलुकको राजनीति सही ढङ्गले अगाडि बढेको देखिँदैन, यो अवस्थामा यसलाई रेस्क्यु गर्नको लागि जसले जसको ठाउँबाट जे प्रयास गरेर आउन सक्छ त्यो प्रयास गर्नुपर्छ, त्यो काम राष्ट्रपति भइसकेका व्यक्तिले त्यो ठाउँबाट प्रयास गर्दा केही बिग्रिन्छजस्तो लाग्दैन।’ 

मुलुकमा राजनीतिक दलहरूको ध्रुवीकरण वा गठबन्धन भनेको विचार र सिद्धान्त या कार्यक्रमको आधारमा हुन्छ तर केन्द्रबाट दक्षिण र केन्द्रबाट उत्तर हुनेहरूको गठबन्धन भनेको असाध्यै तल्लो स्तरको स्वार्थले भएको समेत टिप्पणी गरे। ‘राजनीतिक सिद्धान्त, विचार र कार्यक्रमको आधारमा ध्रुवीकरण  होस् भन्ने आम नागरिकको अपेक्षा हो,' उनले भने,  'अहिलेको पूर्वराष्ट्रपति आएर केन्द्रबाट देब्रे अर्थात् समाजवादी अथवा वामपन्थी एउटा पक्ष र कांग्रेसको नेतृत्वमा अर्को पक्ष बन्यो भने मात्रै मुलुकले एउटा लय लिने र त्यो लय ल्याउने काममा पूर्वराष्ट्रपतिको  भूमिका रह्यो भने स्वागतयोग्य हुन्छ।’ 

यो पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad