राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताभन्दा अगाडि दुईओटा डरलाग्दा प्रावधान नेपाललाई स्वीकार गर्न लगाइएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित संघीयताविरुद्धको अन्तरक्रिया कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले संघीयता नेपालको आवश्यकता नभएर विदेशीले जबर्जस्ती बोकाएको भारी भएको दोहोर्याए।
‘पहिला जन्मको आधारमा नागरिकता दिने गरी नागरिकता विधेयक पारित गरियो। त्यसपछि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरियो’ केसीले भने, ‘त्यससँगै संघीयता नेपाल भित्राइयो।’
जन्मको आधारमा नागरिकता र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधानले गर्दा संघीयताले सिधै देशको राष्ट्रियतामाथि आघात पुगेको केसीको भनाई छ।
उनले साम्रज्यवादी शक्ति रिसाउँछन् कि भनेर ठूला भनिने दलहरूले संघीयताको विरोध नगरेको दाबी गरे।
उनले विदेशी शक्तिले नेपालको हित हुन्छ भनेर सहयोग नगरेको स्पष्ट पार्दै आफनो स्वार्थका लागि मात्रै विदेशीहरू आउने स्पष्ट पारे।
‘हामी रोगी भयौँ, हामी गरिब भयौँ भनेर होइन नि साम्राज्यवादीले हामीलाई सहयोग गर्ने’ उनले भने, ‘उनीहरूले हामीलाई खसी देखाउँछन् तर दिने बेलामा फर्सी दिन्छन्।’
अध्यक्ष केसीले भर्खरै शपथग्रहण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबारे प्रश्न गरे, ‘युएसएडका थुप्रै योजनाका लागि छुट्याइएको रकम रोक्ने तर एमसिसी खारेज नगर्ने, यस्तो किन नि?’
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आगामी चैत २४–३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलन उचाइमा पुग्ने बताए।
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।
कार्यक्रमा जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री,अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहलगायत नेताहरूले धारणा राखेका थिए।
Shares

प्रतिक्रिया