राजनीति


कांग्रेस सभापति थापालाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न: चुनावमा देउवालाई टिकटबाट किन वञ्चित गरियो?

कांग्रेस सभापति थापालाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न: चुनावमा देउवालाई टिकटबाट किन वञ्चित गरियो?

गोकुल जोशी
बैशाख २६, २०८३ शनिबार १६:९, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष महाधिवेशनबाट विस्थापित कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावमा टिकटबाट बञ्चित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टी सभापति गगन कुमार थापा प्रमुख अतिथि रहेको कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई आज धनगढीमा सम्बाेधन गर्ने क्रममा मुख्यमन्त्री शाहले देउवालाई चुनावमा टिकटबाट किन वञ्चित गरियो भन्दै सभापति थापालाई प्रश्न गरे।

‘आदरणीय नेता शेरबहादुर देउवालाई गएको चुनावमा टिकटबाट किन वञ्चित गरियो? यसको जवाफ चाहिन्छ,’  सभापति थापालाई इङ्गित गर्दै  उनले भने, ‘अब उहाँ (देउवा)को स्थान, हैसियत र सम्मानका बारेमा पार्टीको दृष्टिकोण के हो? सभापतिले यसबारेमा जबाफ दिनुपर्छ।’  

शाहले पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्ने बताए। उनले नेपाली कांग्रेसलाई एकढिक्का बनाएर जानु पर्नेमा पनि जोड दिए।

कांग्रेस एक ठाउँमा हुन सके अबको १० वर्षसम्म गगन थापा पार्टीको सभापति हुने उनको भनाइ थियो।

‘कांग्रेसलाई एक बनाउन सक्नु भयो भने अबको १० वर्षसम्म गगन थापा नै पार्टीको सभापति हुने निश्चित छ,’  उनले भने, ‘यसमा कुनै दुई मत छैन। तर त्यसका लागि सिंगो कांग्रेसको बलियो सभापति बन्ने गरी अगाडि बढ्नु होला।’ 

अहिलेको केन्द्रीय कार्यसमितिभित्र ‘भाइरस’हरू रहेका आरोप पनि उनले लगाए। तिनलाई चिनिराख्न शाहले सभापति थापालाई आग्रह गरे। ‘ती भाइरसले सभापतिलाई समाप्त गर्न सक्छन्, सचेत रहनु होला,’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad