राजनीति


रेशम-रञ्जिता विवादबीच धनगढीमा नाउपा संसदीय दलको बैठक बस्दै

रेशम-रञ्जिता विवादबीच धनगढीमा नाउपा संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार ९:५३, कञ्चनपुर

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ। कैलालीको धनगढीस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे संसदीय दलको बैठक बस्न लागेकाे हाे।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने बारे संसदीय दलले निर्णय गर्ने तयारी गरेको छ। नाउपाका संरक्षक रेशमलाल चौधरीले दल नेता समेत रहेका आर्थिक मामिलामन्त्री घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन्। 

रेशमले बर्दियास्थित आफ्नो निवासमा नाउपाबाट सुदूरपश्चिम प्रदेश सरकार सामेल चौधरीसहितका ५ जना मन्त्रीलाई कांग्रेस नेतृत्वबाट मुख्यमन्त्री बनेका कमल बहादुर शाहलाई विश्वासको मत दिन भनेका थिए।

मंगलबार भूमि व्यवस्था तथा सहकारीमन्त्री रामेश्वर चौधरी, सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खुसीराम डगौँरा रेशमलाई भेट्न पुगेका थिए। 

सुदूरपश्चिम प्रदेश सभामा रहेका नाउपाका ७ सांसदमध्ये ५ सांसद अहिले कांग्रेस नेतृत्वको सरकारमा छन्। रञ्जितानिकट दुई सांसद सरकार बाहिर छन्।

२१ फागुनमा सत्ता समिकरण फेरबदलसंगै निर्वाचन आयोयले अध्यक्षमा रेशमलाई नमानेर रञ्जितालाई फर्काइदिएपछि गठबन्धनका विषयमा नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद छ। 

रञ्जिता नयाँ सत्ता गठबन्धनलाई सघाउने पक्षमा छिन्। कांग्रेसलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई रञ्जिताले दिएको लिखित निर्देशन कार्यान्वयन नै भएको छैन। 

रेशम कांग्रेससंग सहकार्य गरेर अघि बढ्ने पक्षमा छन्। श्रीमान् श्रीमती समेत रहेका रेशम र रञ्जिताको विवादले नाउपा फुटको डिलमा पुगेको छ।

सत्ता गठबन्धन फेरबदल भएपछि तत्कालीन सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २३ फागुनमा समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .