६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ।
उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिइन्।
यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालतले जन्मकैदकै सजाय सुनाएको छ। जिल्ला अदालत कैलालीले भने लक्ष्मण चौधरीलाई तीन वर्ष मात्रै सजाय हुने फैसला गरेको थियो। उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा बसेर छुटिसकेका छन्।
उच्च अदालतले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गङ्गाराम चौधरीसमेत जना सातको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही पाँच वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ।’
मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल गएका थिए।
उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको हो। चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गराइएको थियो।
टीकापुर घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए। रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। सांसदको सपथ पनि लिएका चौधरी हाल कारागारमै छन्।

प्रतिक्रिया