समाज


सिडेन निर्वाचन : कसको पक्षमा बन्दैछ माहोल?

सिडेन निर्वाचन : कसको पक्षमा बन्दैछ माहोल?

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ०:५५,

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं कार्य समितिको निर्वाचन पुस ४ गते हुँदैछ । निर्वाचनमा इन्जिनियर उमेश थानी र इन्जिनियर ध्रुब थापाको प्यानलबीच प्रतिस्पर्धा हुँदै छ।

यस पटकको सिडेन निर्वाचनलाई युवा र पुराना नेताको प्रतिस्पर्धाको रुपमा लिइएको छ। थानी युवा टोलीको साथ लिएर चुनावी प्रतिस्पर्धामा छन् भने थापालाई पुराना पुस्ताको साथ छ।

सिडेनमा हाल ३ हजार ६२३ मतदाता छन्। त्यसमध्ये ३ हजार भन्दा बढी मतदाता युवा रहेकाले थानी आफूलाई बलियो उम्मेदवार मान्छन्। साथै, ध्रुब थापा पक्षका कोषध्यक्षमा उम्मेदवारी दिएका कौशल केसीसहित सदस्यमा उम्मेदवारी दिएका अन्य तीन उम्मेदवार अन्तिम समयमा थानीको प्यानलमा आएकाले पनि चुनाव रोचक हुने देखिएको छ।

कांग्रेसको शुभेच्छुक संस्था रहेकाले थानीलाई शेरबहादुर देउवाको साथ छ भने थापा रामचन्द्र पौडेल पक्षधर हुन्। यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्ष र हाल सिमेन्ट उत्पादक संघको अध्यक्ष रहेका थापाप्रति केही पुराना नेतासमेत असन्तुष्ट छन्। उनीहरुले असन्तुष्टी बाहिर नपोखेको भएता पनि चियागफ तथा छलफलमा भन्ने गरेका छन्, ‘सबैतिर एउटै ब्यक्ति अध्यक्ष हुने हो भने हाम्रो पालो कहिले आउने?’

यसअघि सिडेन निर्वाचनमा रामचन्द्र पौडेल पक्षका युवा नेताको बाहुल्यता रहेको अवस्थामा त्यसपछिका युवा नेता नेतृत्व आफूहरुले पाउने आशमा थिए । तर, एकाएक सिडेनका संस्थापक थापा अध्यक्षमा उठेपछि रामचन्द्र पौडेल निकट मानिएका युवा नेताहरु पनि असन्तुष्ट छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएका केसी थानी प्यानलमा आउनुको त्यो पनि एक कारण हो।

उता, थापा अनुभवी भएकाले जिताउनुपर्ने सो प्यानलको दाबी छ। तर, थानी पनि नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिव, नेपाल इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार, नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य भइसकेको हुनाले उनीसँग पनि अनुभवको कमी नरहेको बुझाई उनी पक्षका मतदाताको छ।

थापा सबैतिर नेतृत्वलिन अघि बढ्ने गरेका कारण कतिपय पुराना नेता पनि रुष्ट छन्। सिडेनमा यस पटक ६० कटेको नेतृत्व आउँदा आगामी निर्वाचनमा आफूहरुले नेतृत्व नपाउने भएका कारण उनलाई समर्थन नगर्ने पक्षमा छन्।

निर्वाचनमा उमेश थानी अध्यक्ष उठेको प्यानलबाट सूर्यबहादुर पाण्डे उपाध्यक्ष, प्रेम चन्द्र राय महासचिव, वीरेन्द्र खड्का उपमहासचिव र कौशल केसी कोषाध्यक्षमा उठेका छन्। उता, ध्रुव थापाको प्यानलबाट मन्दीप सुबेदी उपाध्यक्ष, रोशन राज गिरी महासचिव, सुमन पुडासैनी उपमहासचिव र श्याम दाहाल कोषाध्यक्षमा उठेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad