देशभर दिनप्रतिदिन तापक्रम आरोलो लाग्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको तापक्रम आज (शुक्रबार) २.२ डिग्रीमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले दिएको जानकारीअनुसार अघि बिहान पौने ६ बजे मापन गरिएको हो।
यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो। माैसमविद् शाक्यका अनुसार हिजाे बिहीबार मात्र उपत्यकाकाे तापक्रम हिजो ३.२ डिग्री सेल्सियस थियो। एक रातमै १ डिग्री घटेकाे हाे।
आजको आधिकारिक न्यूनतम तापक्रम भने पुनः बिहान पौने ९ बजे अपडेट गरिने उनले जानकारी दिइन्। त्यसबेलासम्म थोरै घटबढ हुन सक्छ।
माैसमविद्का अनुसार अहिले देशभर दिनप्रतिदिन चिसाे बढिरहेकाे छ।
महाशाखाको विवरणअनुसार बिहीबार जुम्लामा न्यूनतम तापक्रम माइनस ७.५ डिग्रीमा झरेको छ।
यसैगरी बिहीबार दोलखाको जिरीमा माइनस ३.४, मुस्ताङको जोमसोममा माइनस ३.० डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।
आजको न्यूनतम तापक्रम भने बिहान पौने ९ बजे अपडेट गरिने मौसमविद्ले बताएका छन्।
आजको मौसम
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहानीपख पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेकाे छ। बाँकी तराई भेगका एक-दुई स्थानमा भने हल्का मात्र हुस्सु/कुहिरो देखिएकाे छ।
शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ : देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भूभागमा तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस ३ गते (शुक्रबार)
दिउँसो : प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ।
राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस ५ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया