राजनीति


संसदीय दलमा ओलीले भने : फागुन २८ को निर्णयबाट पछाडि फर्कन सकिँदैन

संसदीय दलमा ओलीले भने : फागुन २८ को निर्णयबाट पछाडि फर्कन सकिँदैन

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:२५,

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकको निर्णयबाट पछाडि हट्न नसक्ने बताएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही साथीहरु बैठकमा अनुपस्थित भए पनि निर्णय विधिसम्मत भएको दावी गर्दै उक्त निर्णय फिर्ता नहुने बताएका हुन्।

‘एमाले केन्द्रीय समितिको फागुन २८ गतेका र चैत ५ र ७ गतेको निर्णयबाट पछाडि फर्कन सकिँदैन’, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकपछि पत्रकारसँग भने, ‘केही साथीहरु बैठकमा नआएका कारण छुट्नु भएको हो, निर्णय विधिसम्मत नै हो।’

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण भट्टले सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसलापछि संगठन २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णय खारेज गरेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएको प्रमुख सचेतक भट्टराईले बताए।

नेपाल–खनाल पक्षका नेताको आग्रहपछि प्रधानमन्त्री ओलीले फागुन २८, चैत ५ र ७ गतेको निर्णयबाट पछाडि नफर्कने प्रस्ट पारेका हुन्। उनले संशोधित विधान केन्द्रीय समितिबाट पारित भइसकेका कारण तत्काल तलमाथि गर्न नसकिने बताएका थिए।

‘प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको विधान केन्द्रीय समितिले पास गरिसकेका कारण तत्काल तलमाथि गर्न नसकिने जवाफसमेत दिनुभएको छ’, भट्टराईले भने।

एमाले पुनर्स्थापनापछि नेपाल–खनाल समूह पहिलोपटक बैठकमा सहभागी भएको हो। आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने अनुपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .