ad ad

राजनीति


शीतल निवासमा ओली-प्रचण्ड जम्काभेट र भलाकुसारी (तस्बिरहरु)

शीतल निवासमा ओली-प्रचण्ड जम्काभेट र भलाकुसारी (तस्बिरहरु)

शीतल निवासमा भलाकुसारी गर्दै ओली र प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस ६, २०७९ बुधबार १५:२२, काठमाडौँ

मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ उमेरका सांसद पशुपति शमशेर जबराले शपथ लिँदा दुई कम्युनिष्ट नेताको जम्काभेट भएको छ।

२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति कार्यालय शीतल निवासमा जम्का भेट भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई लहरै राखिएको थियो।

अघिल्लो सिटमा लहरै बसेका ओली र प्रचण्डबीच जबराको शपथका क्रममा कुराकानीसमेत भएको छ। त्यस्तै एमालेबाट छुट्टिएका खनालसँग पनि ओलीले कुरा गरेका छन्।

तर उनीहरुबीच भएको कुराकानीबारे केही पनि बाहिर आएको छैन। सत्ता गठबन्धनमा रहेका प्रचण्ड यस पटक सुरुमै प्रधानमन्त्री हुने दाउमा छन्।

अर्कातिर एमाले अध्यक्ष ओली आफू राष्ट्रपति पद लिएर अन्य दलका नेताहरुलाई प्रधानमन्त्रीमा समर्थन गर्ने रणनीतिमा लागेका छन्।

प्रचण्ड र खनालसँग दुई वर्षदेखि पानी बाराबारकै अवस्था थियो। मंसिर ४ को निर्वाचनमा गोरखाबाट विजयी प्रचण्डलाई ओलीले फोन गरेर बधाई दिएका थिए।

अहिले पनि सरकार गठनका लागि एमाले र माओवादीका दोस्रो तहका नेताबीच कुरा भइरहेको छ। ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सन्देश पठाएको बताइएको छ।

तर नयाँ सत्ता समीकरणका लागि ओली र प्रचण्ड छुट्टै वार्तामा बसिसकेको अवस्था छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० गतेसम्मको समय दिएर दलहरुलाई नयाँ सरकारका लागि बहुमत प्रमाणित गर्न भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .