ad ad

मधेस


उखुको मूल्य तय नहुँदै सञ्चालनमा आए चिनी उद्योग, किसान अन्योलमा

उखुको मूल्य तय नहुँदै सञ्चालनमा आए चिनी उद्योग, किसान अन्योलमा

जनार्दन पोखरेल
पुस ६, २०७९ बुधबार १५:३०, सर्लाही

उखुको मूल्य निर्धारण नहुँदै देशैभरीका चिनी उद्योग सञ्चालनमा आएका छन्। सर्लाही, महोत्तरी, बारा, सिरहा, सुनसरी लगायत तराई मधेशका जिल्लाका सबैजसो चिनी उद्योग केही दिनयता सञ्चालनमा आएका हुन्।

महोत्तरीको रामनगरमा रहेको देशकै सबैभन्दा ठूलो क्षमताको एभरेष्ट चिनी उद्योगले मंगलबारबाट उखु क्रसिङ सुरु गरेको छ भने सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग पनि आज (बुधबार) देखि सञ्चालनमा आएको छ। 

इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बुधबार बिहानबाट उद्योग सञ्चालनमा आएको जानकारी दिए। ‘हामीले एक साता अघि नै ढुंगा पूजा गरेर उद्योग सञ्चालनको तयारी गरेका थियौँ,’  नेपालले भने, ‘आजबाट पूर्णरुपमा उद्योग सञ्चालनमा आएको छ।’ 

इन्दु शंकर र एभरेष्ट देशकै सबैभन्दा ठूला चिनी उद्योग हुन्। यी उद्योगको दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता छ।

उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योगहरु सञ्चालनमा आउँदा किसानहरु भने अन्योलमा परेका छन्। वर्षदिनसम्म दुःख गरेर उब्जाएको बाली बिना मूल्य उधारोमा बेच्नुपर्ने अवस्था आएको भन्दै किसानले चिन्ता व्यक्त गरिरहेका छन्।

गतवर्ष किसानले सरकारी अनुदानको प्रतिक्वीन्टल ७० रुपैयाँसहित उखुको मूल्य ५९० रुपैयाँ पाएका थिए। यस वर्ष उखुको मूल्य कम्तिमा पनि प्रतिक्वीन्टल सात सय रुपैयाँ निर्धारण गर्न किसानका विभिन्न संघसंस्थाले माग गर्दै आएका छन्। 

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले चिनी उद्योग सञ्चालनमा आउनुअघि नै उखुको मूल्य निर्धारण गर्न आफूहरुले सरकार र उद्योगीलाई पटक पटक आग्रह गरेको भएपनि सुनुवाई नभएको गुनासो गरे। 

‘गत शुक्रबार कृषि मन्त्रालयमा भएको छलफलमा पनि हामीले चिनी उद्योग सञ्चालन गर्नुअघि नै उखुको मूल्य निर्धारण गर्न सरकार र उद्योगीसँग माग गरेका थियौँ,’ उनले भने, ‘तर, अहिले उखुको मूल्य तय नै नगरी चिनी उद्योगहरु सञ्चालन गरिएका छन्। यो किसानप्रति सरकार र उद्योगीले गरेको बेइमानी हो।’ 

गएको शुक्रबार कृषि मन्त्रालयका सचिव गोविन्द शर्माको अध्यक्षतामा उखुको मूल्यको विषयमा सहमति कायम गर्न किसान प्रतिनिधि र उद्योगीबीच कृषि मन्त्रालयमा छलफल भएको थियो। 

राष्ट्रिय किसान आयोगका प्रतिनिधिसमेत सहभागी त्यो छलफलमा पनि उखुको मूल्यको विषयमा सहमति नजुटेको छलफलमा सहभागी महासंघका अध्यक्ष मैनालीले बताए। 

‘बैठकमा उद्योगी र सरकारको तर्फबाट यसवर्ष उखुको मूल्य प्रतिक्वीन्टल ६०५ रुपैयाँ कायम गर्न प्रस्ताव आएको थियो, तर हामीले मानेनौँ,’ उनले भने, ‘अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी अर्को बैठकबाट मूल्य तय गर्ने सहमतिपछि हामी उठेका थियौँ। अहिले मूल्य तय नहुँदै उद्योगीले उद्योग चलाउन थालेका छन्। यो किसानमाथिको धोका हो।’ 

त्यो बैठकमा आफूले उखुको न्यूनतम मूल्य कम्तिमा पनि प्रतिक्वीन्टल ६५० कामय गर्न माग गरेपछि उद्योगी र सरकारका प्रतिनिधिले नसुनेको उनको भनाई छ।

‘उखुको उत्पादन लागत र चिनीको बिक्री मूल्यको आधारमा उखुको न्यायोचित मूल्य निर्धारण हुनुपर्ने हो, तर त्यसो हुन सकेको छैन,’ मैनालीले भने, ‘यसवर्ष उखुको मूल्य प्रतिक्वीन्टल ६०५ नै कायम गर्ने तयारीमा उनीहरु लागेका छन्। जुन मूल्य हामीलाई मान्य छैन।’  

अहिले नै प्रतिक्वीन्टल ६०५ रुपैयाँ मूल्य प्रचारमा ल्यायो भने किसानले उखु काट्न छाड्लान्, आन्दोलनमा जालान् भन्ने डरको कारण सरकारले उखुको मूल्य सार्वजनिक नगरेको हुनसक्ने उनले बताए। ‘अब एक दुई साता मिल चलेपछि उनीहरुले त्यही मूल्य (प्रतिक्वीन्टल ६०५) किसानलाई थमाउने सम्भावना छ,’ उनले भने। 

समयमै नकाटे सुख्खा मौसमको कारण उखु खेतबारीमा सुक्ने अवस्था आउँछ। तराई मधेशका जिल्लामा असोजदेखि पानी परेको छैन। यसले पनि किसानलाई उखुको उत्पादन घट्ने डर छ। 

उखु सुक्ने डरको कारण मूल्य निर्धारण नहुँदै यतिबेला सर्लाही, महोत्तरीसहित मधेशका जिल्लाका किसानले धमाधम उखु काट्न थालिसकेका छन्।

सर्लाही देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्लामा पर्छ। सर्लाहीपछि महोत्तरी, धनुषा, रौतहट, बारा, सिरहा, सप्तरी सुनसरी, मोरङ, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित तराई–मधेसका सबैजसो जिल्लाका किसानले व्यावसायिक रूपमा धेरथोर उखु खेती गरिरहेका छन्।

तर, पछिल्ला केही वर्षयता किसानले उखु खेती मास्दै गएका छन्। लागतअनुसार मूल्य नपाउँदा, सरकार र उद्योगीले तोकेकै मूल्य पनि समयमै नदिँदा र उत्पादकत्व पनि घट्दा उखु खेतिप्रति मन मर्दै गएको रौतहटको फतुवा विजयपुर नगरपालिका–९ का किसान शम्भु भेटवालले बताए। 

किसानले उखु खेती मास्न थालेपछि उद्योगहरुले पनि क्षमताअनुसार उखु पेल्न पाएका छैनन्। क्रसिङ क्षमताअनुसार उखु नपाउँदा र किसानलाई उखुको भुक्तानी समयमै नदिएको किचलोमा परेर हाल देशभरका चारवटा चिनी उद्योग त बन्द नै भइसकेका छन्।

अबस्था यस्तै रहने हो भने अहिले सञ्चालनमा रहेका उद्योग पनि दुई चार वर्षपछि बन्द हुने अवस्था आउने उखु उत्पादक महासंघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए। 

‘अहिले उद्योगीले दिने मूल्यले उखुको उत्पादन लागत पनि उठ्दैन,’ कुशवाहाले भने, ‘किसानलाई उखु खेतीमा टिकाइराख्ने र उखुको उत्पादन बृद्धि गर्ने हो भने उखुको न्यायोचित मूल्य किसानलाई दिनुपर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .