मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियाप्रति एमालेभित्र नै असन्तुष्टि देखिएको छ।
मधेस प्रदेश सभाका एमाले प्रमुख सचेतक हरिनाराणय महतोले अहिले नै संविधानको धारा १६८ को उपधारा- ३ अनुसार सरकार गठन गरिनु गलत भएको बताए।
‘संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुने आधार हुँदाहुँदै धारा ३ अनुसार सरकार बनेकोमा मेरो असहमती छ,’ उनले नेपालखबरसँग भने, ‘देश असहज अवस्थामा रहेको बेला प्रदेश प्रमुखले यस्तो ढंगले मुख्यमन्त्री नियुक्ति गर्नु हुँदैनथ्यो। याे गतल भयो।’
प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहान मात्रै बर्दिवासको एक होटलमा हतारहतार संविधानको धारा १६८ को-३ अनुसार ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
प्रमुख सचेतक महतोले धारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्ने विषयमा कुनै छलफल र सहमती पनि नभएको दाबी गरे। ‘एमाले प्रदेश कमिटी र संसदीय दलमा छलफल हुँदा धारा २ अनुसार नै अघि बढ्ने सहमती भएको थियो,’ उनले भने, ‘म संसदीय दलमा प्रमुख सचेतक छु। तर, मलाईसमेत कुनै जानकारी नदिइ धारा ३ अनुसार सरकार गठन भएछ।’
उनले यस विषयमा पार्टीको बैठक बसेर छलफल गरिने बताए।
उनले यसअघिका मुख्यमन्त्री जितेन्द्र सोनलले धारा २ को सबै प्रक्रिया पूरा नगरी राजिनामा दिएकाले अहिले धारा ३ अनुसार सरकार गठन गरिनु गतल भएको बताए।
‘धारा २ अनुसार मुख्यमन्त्री बन्नु भएका सोनलले प्रदेशसभामा बहुमत/अल्पमतको प्रक्रियामा नगइ पदबाट राजीनामा दिनुभएको हो। त्यतिबेलै मैले प्रदेश सभामा अब पनि बहुमतको सरकार बन्नुपर्छ। धारा ३ मा अहिले नै जानु हुँदैन भनेको थिएँ,’ उनले भने, ‘तर, अहिले एक्कासी कसैलाई जानकारी नै नदिइ प्रदेश प्रमुखले कुन आधारमा मुख्यमन्त्री नियुक्त गर्नु भएको हो मैले बुझ्न सकेको छैन।
आफ्नै पार्टीका नेता मुख्यमन्त्री बने पनि प्रदेश सभाका एमालेकै अधिकांश सांसदलाई यस विषयमा जानकारी नदिइएको उनको भनाई छ।
Shares

प्रतिक्रिया