राजनीति


विश्वासको मत नपाउने खतरा बढेपछि मधेसमा साना दल फकाउँदै मुख्यमन्त्री सोनल

एक-एक सांसद भएका दुई दलले पनि मन्त्री दाबी गर्दा समस्या
विश्वासको मत नपाउने खतरा बढेपछि मधेसमा साना दल फकाउँदै मुख्यमन्त्री सोनल

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १२:४६, काठमाडौँ

कात्तिक २२ गते विश्वासको मत लिने तयारीमा लागेका मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका दुई सांसदलाई पनि मन्त्री बनाउने तयारी गरेका छन्। 

जनमत पार्टीमा भएको विभाजन र जसपाका एक सांसदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोनललाई प्रदेशसभामा बहुमत सिद्ध गर्न सकस पर्ने देखिएको छ। त्यसबाट पार पाउन उनले एकएक जना सांसद भएका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग पनि सत्ता साँझेदारी गर्न लागेका स्रोतले जनाएको छ। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

त्यतिबेला उनलाई जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रको ९,  लोसपाका ८ र नेकपा एकीकृत समाजवादीको ७ सांसदले समर्थन गरेका थिए। एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। 

मधेसमा प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२ र राप्रपाकाे १ सिट छ। साेनलले दुई ठूला दल कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार बनाएका हुन्।

तर, यसबीचमा जनमत पार्टी विभाजन भएको छ। जनमत विभाजन हुँदा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले फरक दल रोजेका छन् भने अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि जसपाका सांसद सरोजकुमार सिंह निलम्बनमा परेका छन्। 

२२ गते विश्वासको मत लिँदा जनमतसँग अलग भएर बनेको जनस्वराज पार्टी रोजेका सिंह र साहले सोनललाई मत दिने नदिने निश्चित छैन। 

यदि सिंहसहितका दुई सांसदले मत नदिएको अवस्थामा बहुमत सिद्ध गर्न नसकिने देखेर मुख्यमन्त्री सोनलले नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी सांसद विमला अन्सारीलाई पनि मन्त्री बनाउने आश्वास दिएका स्रोतको दाबी छ। सोही आश्वासअनुसार उनीहरुले सोनललाई विश्वासको मत दिने बताउन थालेका छन्। 

मन्त्री बनाउने आश्वासन पाएपछि अन्सारी र सिंह अहिले सत्ता गठबन्धनका बैठकमा सहभागी हुन थालेका बताइएको छ। 

तर, मधेसमा आफ्नो दलको नेतृत्वमा सरकार गठनको लागि सक्रिय लोसपाका महासचिव परमेश्वर साहले भने अन्सारी र सिंहलाई मन्त्री बनाउने आश्वासन मुख्यमन्त्रीले नदिएको दाबी गर्छन्। 

‘हामीसँग उहाँहरुले मन्त्री दाबी गर्नु भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत पुग्नेमा कुनै शंका छैन। जनमतका दुई सांसदले पनि समर्थन गर्नुहुन्छ। विश्वासको मत लिँदा मुख्यमन्त्रीसँग ५७ सांसदको समर्थन रहन्छ।’

तर, जममत विभाज हुँदा जनस्वराज पार्टी रोजेका मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले भने आफ्नो दलले सोनललाई विश्वासको मत दिने/नदिने टुंगो लागिनसकेको बताए। 

‘मत दिनको लागि त उहाँहरुले हामीसँग मत माग्नु पनि पर्‍याे नि,’ सिंहले नेपालखबरसँग भने, ‘हामीसँग मत माग्नु भएछ, हामी पनि आवश्यक परेछौँ भने विश्वासको मत दिने बारेमा सोचौँला।’

मुख्यमन्त्रीमा शपथ लिएकै दिन (असाेज ३० गते) विना विभागीय दुईमन्त्री नियुक्त गरेका मुख्यमन्त्री साेननले अब विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। त्यसयता मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने र विश्वासकाे मत नपाइने डरकाे कारण उनी तत्कालै मन्त्रिपरिषद् विस्तारबाट पछि हटेका स्राेतले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad