राजनीति


मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

साना २ दलका २ सांसदले समर्थन गरे सोनललाई
मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ९:२१, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल यही कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। 

सत्ता गठबन्धनमा सहभागी दलको बुधबार जनकपुरमा बसेको बैठकले कात्तिक २२ गते मुख्यमन्त्री सोनलले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

प्रदेश सभाका पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनललाई अहिले साना दुई दलले पनि समर्थन गरेका लोसपाका महासचिव परमेश्वर साहले जानकारी दिए।

मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन जनाएका थिए। 

‘अहिले मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले पनि समर्थन गरेका छन्,’ साहले बिहीबार बिहान नेपालखबरसँग भने, ‘हिजोको सत्ता गठबन्धनको बैठकमा यी दुवै दलको प्रतिनिधित्व थियो।’

यी दुई दलको मधेस प्रदेश सभामा एक–एक सांसद छन्। बुधबारको बैठकमा नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी सांसद विमला अन्सारी पनि सहभागी थिइन्।

योसँगै मधेस प्रदेश सभाका दुई ठूला दल कांग्रेस र एमालेबाहेक सबै दलको समर्थन  मुख्यमन्त्री सोनले पाएका छन्। प्रदेश सभामा कांग्रेसका २२ र एमालेका २३ सांसद छन्। 

सोनलले असोज ३० गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणकै दिन दुईमन्त्री नियुक्त गरेका सोनलले अझै मन्त्रिपरिषद् बिस्तार गरेका छैनन्। 

हाल मधेस सरकारमा जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेल मन्त्री छन्। उनीहरूको मन्त्रालय पनि अझै टुंगिसकेको छैन। 

अब मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने नेता साहको भनाई छ। ‘विश्वासको मत नलिइ उहाँले अब थप मन्त्री नियुक्त गर्नुहुन्न,’ साहले भने, ‘मन्त्रालय बाँडफाँडको विषयमा अहिले सत्ता गठबन्धनका दलबीच छलफल भइरहेको छ। कुन दलाई कुन मन्त्रालय दिने भन्ने विषय टुंगिसकेको छैन।’

स्रोतका अनुसार मधेसमा गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने सम्भावना छ। त्यसैगरि जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेको छ। तर उसले तीनवटा मन्त्रालय पाउने सम्भावना छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ। लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी अन्य दलको छ। तर, यो विषयमा अझै दलहरु छलफलमै छन्।  

मधेसमा सरकार गठनको निर्णायक शक्तिको रुपमा रहेको जनमत आन्तरिक विवादको कारण विभाजित बनेको छ। सोनललाई समर्थन गरेको जनमतका दुई सांसदले फरक दल रोजेका छन्। 

यसले पनि मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त हुनेमा कतिपयले आशंका व्यक्त गरिरहेका छन्। तर, मुख्यमन्त्री सोनल भने जनमतको विभाजनले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad