नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले आफ्ना छोरालाई भूमि समस्या समाधान आयोग सर्लाहीको सदस्यमा नियुक्तिको लागि सिफारिस गरेपछि एमाले सर्लाहीमा विवाद देखिएको छ।
पदको दुरुपयोग गरेर साहले आफ्ना छोरा रौनित साहलाई आयोगको जिल्ला सदस्यमा नियुक्तिको लागि सिफारिस गरेको भन्दै एमाले सर्लाहीका नेता कार्यकर्ता साहसँग रुष्ट बनेका छन्।
अध्यक्ष साहको कार्यशैलीको विरोध गर्ने पार्टीका नेता(कार्यकर्तालाई साहले उल्टै कारबाहीको तयारी गरेपछि यो विषयले सर्लाहीमा झन् चर्चा पाएको छ।

आयोगको सर्लाही अध्यक्षमा नेपाली कांग्रेसका मदन बिश्वकर्मा नियुक्त भएका छन् भने तीन सदस्य नियुक्तिको लागि आफूले सनाखत गरेर भूमि व्यवस्था मन्त्रालयमा पठाएको बिकले बताए।
पार्टीको भागमा परेको दुई सदस्यमा अध्यक्ष साहले आफ्ना छोरा रोनित साह र एमाले कार्यकर्ता पवित्रा घिमिरेलाई नियुक्तिको लागि सिफारिस गरेका छन्। आयोगको जिल्ला समिति चार सदस्यीय हुने व्यवस्था छ। जसमा एकजना जनमत पार्टीका सञ्जयकुमार सिंह सिफारिस भएका छन्।
आयोगको सदस्यले मासिक ४५ हजार भन्दा धेरै तलबसहित अन्य सुविधा पाउँछन्। आर्थिक रुपमा निकै सम्पन्न भएपनि साहले आर्थिक लोभकै कारणले छोरालाई सदस्यमा नियुक्तिको लागि पहल गरेको भन्दै एमाले भित्रै उनको आलोचना भइरहेको हो।
यो सिफारिसलाई लिएर सामाजिक सञ्जाल र पत्रपत्रिकामा आफ्नो आलोचना गर्ने एमाले सर्लाहीका संस्थापक सदस्यसमेत रहेका संचारकर्मी शंकरराम श्रेष्ठ, रेवत अधिकारी, बिक्रम भण्डारी, इन्द्र न्यौपाने लगायतलाई साहले स्पष्टीकरण सोधेका छन्।
साहले आफूलाई स्पटीकरण सोधेकोप्रति श्रेष्ठले सामाजिक सञ्जालमै साहको थप आलोचना गरेका छन्।
‘म नेकपा (माले)को संस्थापक सर्लाही जिल्ला कमिटी सदस्य हुँ। अहिले एमालेको सर्लाही जिल्ला कमिटी सदस्य छु। यो तिम्रो कृपाले पाएको पद होइन,’ श्रेष्ठले सामाजिक सञ्जालमा अध्यक्ष साहको आलोचना गर्दै लेखेका छन्, ‘अहिले पार्टीमा ठेउकाहरुले जगजगी छ। मलाई एमालेबाट तुरुन्तै निस्कासन गर! म मेरो जीवन जिउँछु। मलाई पीडा भयो। मैले के गरेँ? भोलि बिहानसम्म कारबाही गर!’
श्रेष्ठले एमाले आफूले पनि बनाएको पार्टी भएकाले मनपरी हुन नदिने बताए। ‘मेरो पनि यो पार्टीमा २० वर्ष पसिना बगेको छ। म घर छाडेर हिँड्दिन। गलहत्याएर निकाल्छन् भने त्यो दिन मेरो मुक्तिको दिन हुनेछ,’ उनले नेपालखबरसँग भने।
एमाले सर्लाहीका नेता चुडामणि वाग्लेले पनि सामाजिक सञ्जालमार्फत् नै अध्यक्ष साहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले श्रेष्ठप्रति सहानुभूति प्रकट गर्दै फेसबुकमा लामो स्टाटस लेखेका छन्।
अध्यक्ष साहको नाम नलिई वाग्लेले नेतृत्वको आलोचना गर्दा कारबाही हुने भए कारबाहीको लागि लामवद्ध हुन आफू पनि तयार भएको प्रतिक्रिया दिएका छन्।

तर, अध्यक्ष साहले भने यस विषयलाई फरक ढंगले अर्थ्याउने प्रयास गरेका छन्।
गएको अधिवेशनमा पराजित हुने समूहको अहिलेसम्म चित्त नबुझेको कारण आफ्नो आलोचना भएको उनको आरोप छ। उनले आफ्नो छोरो योग्य भएकाले भूमि आयोगको सदस्यमा नियुक्तिको लागि सिफारिस गरिएको दाबीसमेत गरे।
‘जिल्ला अधिवेशनमा पराजित हुने समूहको अझै चित्त बुझिसकेको छैन। यो विवाद त्यसकै प्रतिफल हो,’ उनले नेपालखबरसँग भने, ‘जो सामाजिक सञ्जालमा मात्रै सक्रिय छन्। कामको जिम्मेवारी लिँदैनन्। पार्टीको लागि दुई रुपैयाँ लगानी गर्दैनन्। हाम्रो मिसन पार्टी संगठन निर्माणमा छ। उनीहरुको धन्दा अर्कै छ।’
योग्यताकै आधारमा आफ्नो छोरालाई भूमि आयोगको सदस्यमा नियुक्तको लागि पार्टीको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको दाबी गर्दै उनले यसमा आफ्नो कुनै भूमिका नभएको तर्क गरे।
‘मेरो छोरा योग्यता र क्षमताको आधारमा सिफारिस भएको हो। यसमा अन्य विषय जोड्नु जरुरी छैन। तीन कार्यकाल सर्लाही जिल्ला कमिटी सदस्य भएर काम गरिसकेको छ उसले। भूमि आयोगमा गएर कमाउँला भन्ने आश गरेर बसेकाहरुले अहिले मेरो छोराको सिफारिसलाई लिएर विरोध गरिरहेका छन्,’ उनले भने।
उनले सर्लाहीबाट भूमि आयोगको सदस्यमा नियुक्तिको लागि पार्टी च्यानलबाट १६ जनाको नाम आएको र त्यसमध्ये आफूले आफ्नो छोरोसहित ६ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको स्वीकार गरे।
‘पार्टी बैठकमा १६ जनाको नाम आएको थियो। यो कमिटीमा छलफल गरेर निर्णय भएको विषय हो। मधेस प्रदेश कमिटीले दुईजनाको नाम नियुक्तिको लागि केन्द्रमा सिफारिस गरेछ। यसमा मेरो कुनै सोर्सफोर्स छैन,’ उनले भने।
उनले आयोगमा आफ्नो छोराको सिफारिसको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा पार्टीको बदनाम गरेर लेख्दै हिँड्नेलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिए।
Shares

प्रतिक्रिया