नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको कमजोरीलाई खुला हृदयले स्वीकार गर्दै कांग्रेस अघि बढ्ने बताएका छन्।
विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले सोमबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थापाले ‘अब कांग्रेस ऐना पुछेर होइन, अनुहारको दाग मेटेर’ अगाडि बढ्ने उद्घोष गरेका हुन्।
उनले पार्टीले विगतमा निर्वाचन जित्नु र सरकारमा टिक्नुलाई नै सबैभन्दा ठूलो कुरा मान्ने गल्ती गरेको स्वीकार गरे।
सत्ताप्राप्तिका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता निष्ठावान् नेताहरूको आदर्श बोकेको पार्टीको छविमा आँच आएको उनको भनाइ थियो।
थापाले कम्युनिस्ट पार्टीहरूसँगको प्रतिस्पर्धा गर्ने नाममा कांग्रेसले आफ्नो मौलिकता गुमाउँदै गएकोमा चिन्ता व्यक्त गरे।
उनले भने, ‘अड्डा, अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोजेर ती संस्थाहरूको पवित्रता बिगार्ने काममा कांग्रेस पनि कतै न कतै सहभागी भएको छ, अब त्यस्ता गल्ती नदोहोर्याउने संकल्प सबैले गनुपर्दछ।’
कायरले मात्र आफ्नो कमजोरी लुकाउने तर साहसीले गल्ती स्वीकार गरेर अघि बढ्ने तर्क गर्दै थापाले कांग्रेस अब नागरिकका माझ नयाँ भरोसाका साथ जाने बताए।
पार्टीको जरालाई अझ गहिरो र फराकिलो बनाउँदै भविष्यको स्पष्ट दृष्टि राखेर काम गर्ने योजना सुनाउँदै थापाले देशभरका कार्यकर्तामा नयाँ उर्जा सञ्चार भएको उल्लेख गरे।
‘यो उर्जा र सन्देशलाई कोठाभित्र मात्र सीमित नराखी प्रत्येक नागरिकको घरदैलोसम्म पुर्याउने जिम्मेवारी कार्यकर्ताको हो’, उनले भने, ‘कांग्रेस बदलियो भनेर मात्र पुग्दैन, यसले मेरो जीवनमा के फरक पार्छ’ भन्ने नागरिकको प्रश्नको ठोस उत्तर लिएर जान आग्रह गर्दछु।’
नेपाललाई पुनः कुनै पनि प्रकारको द्वन्द्वमा पर्न नदिने मुख्य आधार वर्तमान संविधान नै भएको बताउँदै उनले यसको निर्माणको कठिन पृष्ठभूमिलाई बिर्सन नहुनेमा जोड दिए। संविधानलाई सहज रूपमा मात्र नलिई यसको रक्षा र कार्यान्वयनमार्फत नागरिकका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको सन्देश थियो।
Shares

प्रतिक्रिया