नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकार बनेपछिको पछिल्लो पाँच वर्षमा नेपाली कांग्रेसले गर्ने कार्यनीतिको बारेमा जानकारी दिँदै अबको सरकारमा ‘नागरिक तल र सरकार माथि’ रहने पुरानो परिपाटी अन्त्य हुने दाबी गरे।
सोमबार विराटनगरमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको सरकारले प्रत्येक महिनाको पहिलो दिन नागरिकका सामु उभिएर आफ्नो कामको लक्ष्य सार्वजनिक गर्नेछ र महिनाको अन्त्यमा कति उपलब्धि हासिल भयो भन्ने फेहरिस्त पेश गर्ने दाबी गरे। यो पाँच वर्षलाई ’डेलिभरी’ र ’पर्फोर्मेन्स’ को वर्ष बनाइने र नागरिकले सरकारको मूल्यांकन गर्न पाँच वर्ष कुर्नु नपर्ने उनको तर्क छ।
मुलुकका ७५३ पालिका, सातै प्रदेश र संघलाई आपसमा जोडेर लैजाने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गर्दै थापाले कुनै एक व्यक्तिको चमत्कारले मात्र देश नबन्ने स्पष्ट पारे।
उनले भने, ‘अधिकार, स्रोत र जिम्मेवारी बाँडिएको संघीय ढाँचामा सबै तहका सरकारलाई सँगै हिँडाउने राजनीतिक चरित्र कांग्रेसमा रहेको छ। शिक्षा, स्वास्थ्य, किसानका लागि मल र स्वास्थ्य बिमा जस्ता आधारभूत समस्या समाधानका लागि स्पष्ट योजनासहित पार्टी अगाडि बढेको छ।’
थापाले पुस्ता र समुदायबीच बढ्दै गएको दूरीलाई मेटाउनुपर्नेमा जोड दिँदै युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर लैजानुपर्ने आवश्यकता औँल्याए।
‘घृणा र उत्तेजनाको राजनीति गर्न सजिलो छ, तर सबैलाई मिलाएर लैजानु नै वास्तविक चुनौती हो,’ उनले भने, ‘आगामी पाँच वर्षमा न सिंहदरबार जल्न दिइने छ, न त कुनै युवकलाई सडकमा ढल्न दिइने छ, भ्रष्टाचारमुक्त देश र सुरक्षित समाजको संकल्प हो।’
स्वदेशमा रहेका हुन् वा विदेशमा, झुप्रोमा बस्ने हुन् वा महलमा—सबै नेपालीलाई एउटै सूत्रमा जोडेर देशलाई जुरुक्क उचाल्ने तागत कांग्रेससँग रहेको थापाको दाबी छ। उनले पार्टीका नेता तथा कार्यकर्तालाई ’बदलिएको कांग्रेसले मात्र देश बदल्न सक्छ’ भन्ने सन्देश लिएर जनताको घरदैलोमा पुग्न आग्रह गरे। कांग्रेसले देशलाई सम्हाल्ने र सुधार्ने दुवै क्षमता राख्ने बताउँदै उनले अबका दिनमा देशले विगतका जस्ता अस्थिरता र संकट भोग्नु नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।
Shares

प्रतिक्रिया