कोसी प्रदेशका अधिकांश ठाउँमा नेपाली सेना गस्ती बढाएको छ। ठाउँ ठाउँमा युवाहरू सरसफाइमा लागेका छन्।
आगजनी र तोडफोड भएका स्थलहरूमा युवा तथा स्थानीयहरूको पहलमा सरसफाइको काम थालिएको हो।
बिर्तामोडमा शान्तिको कामना गर्दै युवाहरू सरसफाइका सामाग्रीसहित बजारमा निस्किएका छन्। त्यस्तै विराटनगर महानगरपालिका अगाडी इटहरी तथा इनरुवाका सार्वजनिक स्थलहरूमा आगजनी तथा तोडफोड भएको ठाउँको सरसफाइ सुरु भएको हो।
कोसी प्रदेश राजधानीका सबै संरचनाहरू जलेर ध्वस्त भएका छन्। तोडफोड तथा आगजनीपछि विराटनगरमा लुटपाट मच्चिएपछि अहिले सेना बजारमा निस्किएको छ।
विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको छ।
कैदीहरूले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको हो।
हाल कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिएको छ। मोरङ कारागारमा १ हजारभन्दा बढी कैदी बन्दीहरू छन्।
यस्तै विराटनगर महानगरपालिका ३ मा रहेको बाल सुधार गृहका २४९ जना बालबालिकाहरू बालगृह तोडेर भागेका छन्। बिहानै उनीहरूले बालगृह तोडेर नाराबाजी गर्दै भागेका थिए। विभिन्न अपराधमा संलग्न रहेका १२ वर्षदेखि ३२ वर्षसम्मका व्यक्तिहरू बाल सुधार गृहमा रहेका थिए।
Shares

प्रतिक्रिया