कोसी प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली-२०८२ स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।
यो नियमावली स्वीकृत भएसँगै यातायात क्षेत्रमा रहेको विकृति विसंगति नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ छ।
मन्त्री भण्डारीले यो नियमावलीपछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता प्रक्रिया, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने आशा गरिएको जानकारी दिए।
नियमावलीले सिटी रिक्साचालकले लिखित परीक्षा दिन नपर्ने, ट्राफिक नियम प्रशिक्षण लिनुपर्ने साथै सार्वजनिक सवारी साधनहरूले पञ्जीकृत हुनु नपर्ने व्यवस्थालगायतको विषयलाई समेटेको जानकारी दिए।
त्यस्तै आजको बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने बनेको विधेयक २०८२, प्रदेश सभामा पेश गर्ने निर्णय भएको छ।
यसैगरी सामाजिक संघसंस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस स्वीकृति दिइएको छ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय भएको छ।
Shares

प्रतिक्रिया