राजनीति


अनेरास्ववियुको कारबाहीमा परे, स्वतन्त्र उम्मेदवार बनेर उसैलाई हराए

अनेरास्ववियुको कारबाहीमा परे, स्वतन्त्र उम्मेदवार बनेर उसैलाई हराए

सुमन सुस्केरा
चैत ७, २०८१ बिहिबार १५:५६, विराटनगर

केन्द्रीय प्रविधि क्याम्पस धरानको स्ववियु निर्वाचनबाट सभापतिमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार पेशलराज कार्की चर्चामा छन्। स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका कार्कीलाई अखिल क्रान्तिकारीले आफ्नो संगठनको उम्मेदवार भनेर प्रचार र बधाई दिन थालेसँगै उनी थप चर्चामा आएका हुन्।  

स्ववियु निर्वाचनका लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूसहितको प्यानल एकातिर हुँदा कार्कीलाई अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले  सहयोग गरेका थिए। 

अखिल क्रान्तिकारीका कोसी प्रदेश अध्यक्ष चन्द्र माङ्बुले केन्द्रीय प्रविधि क्याम्पसमा अखिल क्रान्तिकारीले उम्मेदवारी नदिई स्वतन्त्र उम्मेदवार कार्कीलाई सघाएको बताए। ‘त्यहाँ स्वतन्त्रको हाम्रो प्यानलले जितेको चैँ हो,' उनले भने, 'हाम्रो संगठनबाट जितेको  हैन।’ 

निर्वाचनभन्दा अगाडि अनेरास्ववियुको कार्यकर्ता रहेका कार्कीलाई निर्वाचनको बेला नेविसंघलाई सहयोग गरेको आरोप लागेको थियो।

उक्त आरोपपछि संगठनको कारबाहीमा परेका कार्कीले स्वतन्त्र उम्मेदवारी दिएको अनेरास्ववियुका प्रदेश अध्यक्ष जिबी गजल खड्काले बताए। 

निर्वाचित कार्की पनि आफू स्वतन्त्र उम्मेदवार भएको विद्यार्थीहरूले आफूलाई मत दिएको बताउँछन्।

 ‘मलाई साथीहरूले विश्वास गरेर जिताउनु भयो,' उनले भने, 'अहिले म कुनै संगठनको हैन। हिजो म अनेरास्ववियुको अध्यक्ष भएको मान्छे हुँ, अघिल्लो चुनावमा पनि मलाई विश्वास नगरेर उम्मेदवार बनाएनन्, २ महिना पहिलादेखि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको थिएँ।’

पार्टीगत रूपमा कुन पार्टीको हो भन्ने विषयमा कुनै द्विविधा लिनु पर्ने विषय नै नभएको उनको भनाइ छ। स्वतन्त्र जितेको व्यक्तिलाई कुनै दलको ट्याग लगाउनु उचित नहुने उनको भनाइ छ। 

‘आज मलाई सबै विद्यार्थी साथीहरूले जिताउनु भएको हो,' उनले थपे, 'भोली म जुनसुकै संठनमा जान सक्छु, त्यो मेरो व्यक्तिगत स्वतन्त्रता हो।’

निर्वाचित भएका कार्कीले अनेरास्ववियुको क्रिस श्रेष्ठलाई पराजित गरेका हुन्। स्ववियु सभापतिमा स्वतन्त्र निर्वाचित कार्की हात्तीसार क्याम्पसमा फुड टेक्नोलोजी स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत छन्।

कार्कीले ४१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी  श्रेष्ठले ३६४ मत मात्रै प्राप्त गरे।  यहाँ सचिवमा नेविसंघका विश्वेश्वरप्रसाद बडू, कोषाध्यक्ष स्वतन्त्र नाम्छाङ्ग राई निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad