प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताएका छन्।
बिहीबार चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिका लागि हुने बताए। विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको उनको भनाइ थियो।
‘केही सपनाहरू हामीले हिजो देख्यौँ र ती आज आइपुग्दा एक हदसम्म पूरा भएका छन्। आज फेरि हामीले रुकुमको नयाँ सपना छ हामीसँग। त्यो सपनालाई पूरा गर्ने अभिभारा हामी सबैले फेरि एकसाथ भएर अगाडि बढ्नुपर्नेछ,’ शर्माले भने।
रुकुममा तीन सय शय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताए। यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पुग्ने उनको भनाइ थियो।
‘एउटा ठूलो ती सय बेडको अस्पतालमा पु¥याएर हामीले सबै उपचार जिल्लामै गराउनुपर्ने गरी त्यो कुरा अगाडि बढेको छ, मेडिकल कलेज बनाउने गरी। त्यस क्षेत्रबाट पनि एउटा उपलब्धि हासिल हामी गर्दै छौँ,’ उनले भने।
युवाको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने उनले प्रतिबद्धता जनाए। एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्नेमा शर्माको जोड थियो।
Shares

प्रतिक्रिया