नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका यामलाल कँडेलको नाम प्रदेश सभामा सिफारिस भएको छ। सुर्खेत क्षेत्र नम्बर–२ (क)बाट शनिबार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले कँडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो। कँडेल कर्णाली प्रदेश सभा सदस्य छन्।
२०७४ सालमा भएको निर्वाचनमा कँडेलले २१ हजार २८२ मत प्राप्त गरी नेपाली कांग्रेसका कमलराज रेग्मीलाई पराजित गरेका थिए भने रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए।
अघिल्लो पटक उनी कर्णालीको मुख्यमन्त्री अपेक्षा गरिएको थियो। किनभने त्यतिबेला कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो। र, माओवादीका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बने। कँडेल मुख्यमन्त्री बन्न नपाएपछि मन्त्रीसमेत बनेनन्।
एमाले प्रदेश संसदीय दलका नेता कँडेलले नेकपा फुट्नुअघि नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव ल्याएका थिए। तर, त्यो असफल भयो।
त्यसको प्रभाव देशभर पर्न गयो। पछि नेकपा नै विभाजन भएर आ–आफ्नो पार्टी तर्फ फर्किनु पर्ने परिस्थिति आयो र कँडेलको मुख्यमन्त्री बन्ने सपना नै तुहियो। बरु हुम्ला २ बाट एक सिट मात्रै जितेको नेपाली कांग्रेसका जीवनबहादुर शाहीले मुख्यमन्त्री बन्ने अवसर पाए।
जीवनबहादुर शाही मुख्यमन्त्री बन्नुपूर्व नेकपा विभिाजन पछि मुख्यमन्त्री शाहीको सरकार अल्पमतमा परेको थियो। त्यो समयमा मुख्यमन्त्री महेन्द्र शाहीले एमालेमै हाल समाजवादीका ४ जना प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका ६ जना सांसदलाई आफ्नो साथमा लिएर सरकार गठन गरेका थिए।
मुख्यमन्त्री महेन्द्र शाहीलाई कांग्रेसले सघाएर सत्ता जोगाएकै कारण उनले राजीनामा दिएर जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाएका हुन्। हाल कर्णालीमा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धनको सरकार छ।
Shares

प्रतिक्रिया